आइपिएलको एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले लखनउ सुपर जाइन्ट्सलाई १४ रनले पराजित गरेको छ।
योसँगै लखनउ प्रतियोगिताबाट बाहिरिएको छ भने बैंग्लोरले अब क्वालिफायर २ मा राजस्थानसँग शुक्रबार खेल्नेछ। खेलको विजेता फाइनल पुग्नेछ।
गुजरात यसअघि नै फाइनलमा पुगिसकेको छ।
टस जितेर ब्याटिङ गरेको बैंग्लोरले रजत पाटीदारको शतकमा २० ओभरमा २०७ रन बनाएको थियो। जवाफमा लखनउले १९३ रन बनाउन सक्यो र खेल १४ रनले हारेर प्रतियोगिताबाट बाहिरियो।
लखनउका लागि कप्तान केएल राहुलले ७९ रनको इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
लखनउको सुरुवात राम्रो हुन सकेन, क्वान्टन डी कक मात्र ६ रन बनाएर आउट भए। त्यसपछि मनन बोहरा १९ रन बनाएर पेभिलियन फर्किए।
बोहरा आउट भएपछि कप्तान राहुललाई साथ दिन दीपक हुडा आए र उनले २६ बलमा ४५ रन बनाए। राहुलसँग उनले ६१ बलमा ९६ रनको साझेदारी गरे।
यसपछि पिचमा आएका स्टोइनिसले ९ रन मात्र बनाए।
अन्तिम तीन ओभरमा लखनउलाई जितका लागि ४० रन चाहिएको थियो तर खेलको १९औँ ओभरको चौथो बलमा जोस हजलउडले केएल राहुललाई आउट गर्दै लखनउको जितको आशा समाप्त पारे। केएल राहुलले ५८ बलमा ७९ रन बनाउन तीन चौका र पाँच छक्का प्रहार गरे।
अर्को बलमा हजलउडले क्रुनाल पाण्ड्याको विकेट पनि लिए।
त्यसपछि दुष्मन्त चमिरा आए र चार बलमा ११ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
बैंग्लोरका लागि जोस हजलउडले ३ विकेट लिए भने मोहम्मद सिराज, वानिन्दु हसरंगा र हर्षल पटेलले एकएक विकेट लिए।
बैंगलोरको इनिङ्समा यसअघि रजत पाटीदारले ५४ बलमा नटआउट ११२ रन बनाएका थिए भने दिनेश कार्तिकले २३ बलमा नटआउट ३७ रन बनाएर टोलीको स्कोर २०७ रनमा पुर्याउन ठूलो भूमिका खेलेका थिए।
यस क्रममा पाटीदारले ४९ बलमा शतक पूरा गरेका थिए। यी दुई बाहेक विराट कोहलीले पनि २५ रनको योगदान दिए।
लखनउका लागि मोहसिन खान, क्रुनाल पाण्ड्या, रवि बिश्नोई र आवेश खानले एक एक विकेट लिए।
एलिमिनेटरको यो खेल कोलकातामा खेलिरहेको र वर्षाका कारण ४० मिनेट ढिलो गरी खेल सुरु भएको हो।
उत्कृष्ट ब्याटिङका लागि रजत पाटीदार खेलको म्यान अफ द म्याच घोषित भए।