'जब पावरप्लेको पाँचौं ओभर थियो, मलाई लाग्यो कि आज मेरो दिन हो। मेरो ध्यान यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्नेमा थियो। ध्यान मेरो शट र समयमा केन्द्रित गरे,' म्यान अफ द म्याच रजत पाटीदारले आइपीएल २०२२ को सबैभन्दा छिटो शतक बनाएपछि यस्तो बताएका हुन्।
आइपीएलमा बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्टबीचको एलिमिनेटर खेलमा पाटीदारले ५४ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ११२ रन बनाएर खेल बैंग्लोरको पक्षमा पारेका थिए।
१४ रनको जितसहित बैंग्लोर दोस्रो क्वालिफायरमा पुगेको छ। बैंग्लोरले शुक्रबार फाइनल प्रवेशका लागि राजस्थान रोयल्ससँग भिड्नेछ।
रजत त्यही खेलाडी हुन् जसलाई बैंग्लोरले २०२२ को खेलाडी अक्सनमा किनेको थिएन। २०२१ मा पनि उनी बैंग्लोरको टोलीमा थिए र चार खेलमा मौका पाएपछि बेन्चमा राखिएका थिए। उनले चार खेलमा १७.७५ को औसत र ११४.५२ को स्ट्राइक रेटमा ७१ रन बनाएका थिए।
रजत पाटीदारले शतक प्रहार गरेपछि क्रिकेट विश्लेषक हर्ष भोग्लेले भने, 'रजतको विषयमा धेरैलाई थाहा नहुन सक्छ। उनी यस सिजनको सुरुदेखि नै बैंग्लोरको टोलीमा परेका थिएनन्। बैंग्लोरका खेलाडी लवनीथ सिसोदिया घाइते भएपछि आइपीएलको बीचमा उनलाई टोलीमा स्थान दिइएको थियो।'
यस सिजनमा पाटीदारले बैंग्लोरका लागि उत्कृष्ट प्रदर्शन गरेको यो पहिलो पटक होइन। लिग खेलमा उनले गुजरातविरुद्ध ५२ र हैदरावादविरुद्ध ४८ रन बनाएका थिए। यो इनिङ्स सहित उनले यस सिजनमा बैंग्लोरका लागि ५५ को औसत र १५६ को स्ट्राइक रेटमा २७५ रन बनाएका छन्।
यो खेलमा हारको अर्थ प्रतियोगिताबाट बाहिरिनु थियो, यो दबाबका बाबजुद पनि पाटीदारले शतक बनाए।
पाटीदारको शकतसँगै केही नयाँ कीर्तिमान बने।
यो सिजनको सातौं शतक हो। सिजनमा जोस बटलरले तीन, केएल राहुलले दुई र क्वन्टन डी ककले एक शतक बनाएका थिए।
आइपिएल २०१६ मा सबैभन्दा धेरै सात शतक बनाएका थिए भने विराट कोहलीले चार शतक बनाएका थिए। योसँगै सन् २००८, २०११, २०१२ र २०१९ मा कुल ६ शतक बनाएका थिए।
यो यस सिजनको सबैभन्दा छिटो शतक हो। रजतले केएल राहुलको ५६ बलमा बनाएको कीर्तिमानलाई तोडेर मात्र ४९ बलमा यो शतक बनाए। राहुलले १६ अप्रिलमा मुम्बई इन्डियन्सविरुद्ध लिग खेलमा शतक बनाएका थिए। आईपीएलको रेकर्डको कुरा गर्दा यो १७औं छिटो शतक हो। आईपीएलको सबैभन्दा छिटो शतकको कीर्तिमान पाटीदारको टिम बैंग्लोरका क्रिस गेलको नाममा छ। उनले सन् २०१३ मा पुने वारियर्सविरुद्ध मात्र ३० बलमा शतक बनाएका थिए।
अनक्याप क्रिकेटरले (जसले आफ्नो देशको टोलीबाट क्रिकेट खेलेका छैनन्) आइपिएल प्लेअफमा पहिलो शतक बनाएका हुन्।
पाटीदार आइपीएलमा शतक प्रहार गर्ने चौथो अनक्याप क्रिकेटर हुन्। यसअघि मनिष पाण्डे (अनटआउट ११४, डेक्कन चार्जर्स, २००९), पञ्जाबका पल भल्थेट्टी (१२० नटआउट, विरुद्ध चेन्नई, २०११) र बैंग्लोरका देवदत्त पाडिकल (अनटआउट १०१, विरुद्ध राजस्थान, २०२१) ले यो उपलब्धि हासिल गरेका थिए।
प्लेअफको बनेको यो पाँचौं शतक हो। यसअघि चेन्नईका शेन वाटसन (अनटआउट ११७, हैदरावाद, २०१८ फाइनल), पञ्जाबका ऋद्धिमान शाहा (११५ नटआउट, विरुद्ध कोलकाता, २०१४ फाइनल), पञ्जाबका वीरेन्द्र सहवाग (१२२, विरुद्ध चेन्नई, २०१४ क्वालिफायर २) र चेन्नईका मुरली विजय (११३, दिल्ली, २०१२ क्वालिफायर-२) ले प्लेअफमा शतक प्रहार गर्ने कीर्तिमान राखेका थिए।