नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) सर्वोच्च पुगेको छ। इपिएलले बिहीबार विज्ञप्तीमार्फत् क्यानविरूद्ध सर्वोच्चमा रिट गर्दा गरेको जनाएको हो।
'इपिएल र ६ फ्रेन्चाइज टिमले नेपालको प्रचलित कानुनबमोजिम कानुनी उपाय खोज्ने निर्णय गरेका छौं। त्यसैले सम्मानित सर्वोच्च अदालतसमक्ष रिट निवेदन दायर गरिएको छ। सर्वोच्च अदालतले क्यानको गलत निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गरेका छौं। न्यायलयले हामीलाई न्याय दिन्छ भन्ने विश्वास छ,’ इपिएलको विज्ञप्तिमा भनिएको छ।
यसअघि क्यानले देशको एउटा मात्र आधिकारी लिग हुने बताउँदै अरू लिगलाई राष्ट्रिय मान्यता नदिने स्पष्ट पारेको थियो।
साथै क्यानले आगामी असोजमा हुने नेपाल टी-२० लिगका ६ वटा टिम समेत घोषणा गरेको थियो।
क्यानले अरू लिगलाई क्षेत्रीय मान्यता दिन भने सकिने उल्लेख गरेको थियो।
तर इपिएलले आफूले लिग सञ्चालनका लागि अनुमति पाउनु माग दोहोर्याएको थियो।
इपिएलले नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सको पारदर्शिता माथि प्रश्न उठाएको छ। क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सहकार्य प्रतियोगिता आयोजना लागेको हो।