रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गर्दै राजस्थान रोयल्स आइपिएल २०२२ को फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि आइतबार राति राजस्थानले गुजरात टाइटन्ससँग भिड्नेछ।
राजस्थान सन् २००८ पछि पहिलो पटक फाइनलमा पुगेको हो। सो सिजन राजस्थानले उपाधि जितेको थियो।
शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थानले बैंग्लोरलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
बैंग्लोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले ११ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्यो।
राजस्थानका लागि जोस बटलरले उत्कृष्ट ब्याटिङ गरे। उनले जारी सिजनको चौथो शतक प्रहार गर्न सफल भए। उनले नटआउट १०६ रन बनाएपछि राजस्थानले सहजै लक्ष्य पार गरेको थियो। बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे।
त्यसअघि बटलरका ओपनिङ पार्टनर यसश्वी जैशवालले २१ रन जोडे। बटलर र जैशवालबीच पहिलो विकेटका लागि ५.१ ओभरमा ६१ रनको साझेदारी भएको थियो।
कप्तान सन्जु सामसनले २१ बलमा २३ रन र देवदुत पाडिकलले १२ बलमा ९ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा १५७ रन जोड्यो।
उसका लागि रजत पाटिदारले सबैभन्दा बढी ५८ रन जोडे। उनले ४२ बलमा ४ चौका र ३ छक्का हिर्काए।
त्यसअघि ओपनर विराट कोहली ७ रनमा आउट हुँदा कप्तान फाप डु प्लेसिसले २५ रनभन्दा बढी जोड्न सकेनन्।
ग्लेन म्याक्सवेल २४ रनमा आउट भए भने शाहबाज अहमेदले नटआउट १२ रन जोडे।
बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा राजस्थानका प्रसिद्ध कृष्णा र ओबेड म्याकोएले ३-३ विकेट लिए।