गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या आइपिएल २०२२ अघि आफै चोटग्रस्त थिए।
आफूलाई पुरानो लयलाई फर्काएर नयाँ टोलीको नयाँ खेलाडीलाई कसरी राम्रो नेतृत्व दिन सक्छन् भन्नेमा सबैको शंका थियो। प्रतियोगिता सुरु हुनअघि ओपनर जेसन रोय बायो बबलको समस्याको कारण टोलीबाट बाहिरिएका थिए।
तर पनि गुजरातले सिजनको सुरूवात उत्कृष्ट गर्न सफल भयो। लिगमा शीर्ष स्थानमा रहेर हार्दिकको टोली प्रतियोगितामा अर्कै शैलीमा देखियो।
उत्कृष्ट खेल्दै गुजरातले आफ्नो प्रदर्शनले आलोचकहरूको मुख बन्द गर्यो। टोलीले पाँच पटक अन्तिम ओभरमा १०+ स्कोर सफलतापूर्वक पछ्यायो। कप्तानको रूपमा पाण्ड्या अगाडि बढिरहे, आलोचकहरूलाई फ्यानमा परिणत गरे।
फाइनलमा पनि उत्कृष्ट खेल देखाउँदै गुजराजतलाई च्याम्पियन बनाए। ७ विकेटको जितसाथ पहिलो पटक च्याम्पियन बन्ने क्रममा गुजराज आइतबार भएको फाइनल भिडन्तमा राजस्थान रोयल्समाथि पूरै हाबी भयो।
सुरूवती खेलहरूमा मोहम्मद शामी, हार्दिक पाण्ड्या, डेभिड मिलर, राशिद खान जस्ता अनुभवी खेलाडीहरूले जितका लागि योगदान दिए। पछिल्ला खेलहरूमा शुभमन गिल र ऋद्धिमान साहको जोडीले जेसन रोयलाई याद नगर्ने गरी प्रदर्शन गरे।
हार्दिक पाण्ड्याको कप्तानीको प्रशंसा पूर्व प्रशिक्षक रवि शास्त्रीले पनि गरेका छन्। टोलीका उपकप्तान राशिद खानले उनलाई साहसी कप्तान भनेका छन्।
प्रतियोगिताका क्रममा राशिदले भनेका थिए, ‘उनी (हार्दिक) त्यस्तो व्यक्ति हुन् जसले सधैं साहसी निर्णयहरू लिन्छ र आफूले के गर्न गइरहेको छ भन्ने बारेमा धेरै स्पष्ट दिमागमा राख्छ।’
‘खेलाडीको रूपमा, तपाइँलाई खेलको समयमा कप्तानको पक्षबाट एक प्रकारको स्वतन्त्रता चाहिन्छ। र यो केहि चीज हो जुन हार्दिकले हरेक खेलाडीलाई दिन्छ। उसले हामीलाई सकारात्मक ऊर्जा दिन्छ।’
टोली जितोस् वा हारोस्, हार्दिक पाण्ड्या कहिल्यै दबाबमा आएनन्। सबैले उनलाई मैदानमा एकदमै कुल देख्छन् र यही कारणले उनलाई अबको माही (महेन्द्र सिंह धोनी) भन्न थालिएको थियो। पाण्ड्या आफैंले पनि आफ्नो क्रिकेटमा धोनीको धेरै प्रभाव रहेको बताउने गरेका छन्।
पाण्ड्याले तीन भारतीय कप्तान महेन्द्र सिंह धोनी, विराट कोहली र रोहित शर्माको नेतृत्वमा खेल्ने मौका पाएका छन् र उनले ती तीनैबाट केही सिकेका छन्।
यस वर्षको आइपिएलका लागि खेलाडीको अक्सन अघि पाण्ड्याले आफैंले भनेका थिए, ‘म विराटबाट मैदानमा रहेको जोश, आक्रामकता र उनको ऊर्जा लिन चाहन्छु। माही भाइबाट, म धैर्य, शान्त र त्यस्तै रहन चाहन्छु। सबै किसिमको परिस्थितिमा। म आफैंमा के नयाँ कुरा थप्न सक्छु भन्ने पनि लिन चाहन्छु। अर्कोतर्फ, म रोहितबाट यो लिन चाहन्छु कि खेलाडीले आफैंले खेलमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ।’
लिग चरणमा गुजरातले १० जित हात पारेको थियो। पहिलो क्वालिफायरमा उसले राजस्थानलाई हराउँदै फाइनलमा स्थान पक्का गर्यो। फेरि फाइनलमा पनि उसको भिडन्त राजस्थानसँगै भयो। जसमा फेरि पनि गुजरात सफल हुँदै ७ विकेटको जित निकालेर च्याम्पियन बन्यो।
फाइनलसम्ममा गुजरातका फरक फरक खेलाडी ‘म्यान अफ द म्याच’ चुनिए।
गुजरातका लागि डेभिड मिलर, शुभमन गिल र पाण्ड्या दुई–दुई पटक प्रदर्शन गरेका भने राशिद खान, मोहम्मद शामी, लकी फर्गुसन, ऋद्धिमान साहा र राहुल तेवाटियाले यस प्रतियोगितामा एक–एक पटक ‘म्यान अफ द म्याच’ भए।
कप्तान पाण्ड्या आफ्नो अलराउन्ड प्रदर्शनका गर्दै सिजनमा ४८७ रन बनाएर आठ विकेट पनि लिए। डेभिड मिलरले ४८१ रन बनाए भने शुभमन गिलले ४८३ रन जोडे। मोहम्मद शामीले २० विकेट लिए भने राशिद खानले १९ विकेट लिएर दुई पटक जित दिलाउन आफ्नो ब्याटिङ देखाउँदै ९१ रनको योगदान दिए।
सन् २००८ मा आइपीएलको पहिलो संस्करणको ट्रफी जितिसकेपछि राजस्थानले फेरि उपाधि जित्न लक्ष्य पूरा भएन। यसबीच मुम्बईले पाँच पटक उपाधि जितेको छ भने चेन्नईले चार पटक उपाधि जितेको छ।