अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ।
गएराति भएको अभ्यास खेलमा नेपाल नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ। जितको लागि १ सय ९१ रनको सामान्य लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो।
अल स्टार्सको जितमा विपुल शर्माले ५० रन बनाउँदा गौरभ बजाजले ४० रन जोडे।
ओपनर एन्ड्रिज गौसले ४५ रन बनाउँदा उदय कौल १३, मार्टिन कैन १२, र नितिश कुमारले ९ रन जोडे। पृथु बाँस्कोटा शुन्यमा आउट भए।
त्यसअघि अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भयो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ६० रनमा अविजित रहे। विनोद भण्डारी २६, करन केसी २१, देव खनाल २०, रोहित पौडेल १६, आदिल अन्सारी १६ तथा सोमपाल कामीले २ रन बनाए।
नेपाली अल स्टार्सका लागि स्पिनर मार्टिन कैनले सर्वाधिक ३ विकेट लिए। मोहम्मद इलायस र आदिल भाटीले समान २-२ विकेट लिए। विपुल शर्मा र हरम्रित सिंहले १–१ विकेट लिए। वसन्त रेग्मीले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चे पनि विकेट लिन सकेनन्।
नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसँग खेल्न अमेरिका भ्रमणमा छ। नेपालले अब दोस्रो अभ्यास खेल ह्युस्टन हरिकेन्ससँग खेल्ने कार्यक्रम छ।