नेपालले आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरूआत गरेको छ ।
मलेसियामा जारी एसिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले विजयी सुरूआत गरेको हो।
नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा अलआउट हुँदै ३८ रनमा समेटियो।
कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले १४-१४ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले ३ विकेट लिईन्। यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले समान २-२ विकेट लिए।
त्यसअघि यूकेएम ओभल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।
नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाईन्। यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन्।
त्यसअघि सानु राजवंशीले २१, अन्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन जोडेर आउट भए।
कतारका लागि साची ढड्वाल र अलिना खानले १-१ विकेट लिए ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन्। शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने युवा विश्वकप खेल्न पाउनेछ।
प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि युएईविरूद्ध खेल्नेछ छ।
आजै भएको अर्को खेलमा थाइल्याण्डले मलेसियालाई ८५ रनले हरायो।