अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा जित हात पारेको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालले शनिबार ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो।
नेपालले दिएको २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ अल आउट भयो। हरिकेन्सका निनाद निम्बालकरले सर्वाधिक ९९ रनको योगदान दिए।
यस्तै रमिज राजाले २९, ओपनर एन्ड्रिस गौसले २८,गौरव बजाजले १५, उसमान राफिकले १२ र नितिश कुमारले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अमेरिकी टोलीलाई रोक्न नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए। ८.३ ओभर बलिङ गरेका कामीले ३८ रन खर्चिएका थिए।
यस्तै सागर ढकाल र किशोर महतोले २-२ तथा करन केसीले १ विकेट लिए।
त्यसअघि प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २ सय ५० रन बनायो।
नेपालका लागि कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक १ सय १ रनको शतकीय इनिङ खेले।
आरिफ शेखले ४१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २४ रन जोडे। देव खनाल १९, सुनिल धमला १३ र करन केसीले १२ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अतिरिक्तबाट २० रन पाएको थियो।
ओपनर कुशल भुर्तेल १, विनोद भण्डारी ४, सुशन भारी ५, किशोर महतो ८ र सागर ढकाल २ रनमा आउट भए।
हरिकेन्सका मोहम्मद इलियासले सर्वाधिक ५ विकेट लिए। हरमित सिंहले २ तथा हसन रासिदले १ विकेट लिए।
यसअघि नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो ।
आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो।
नेपालले लिगको पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरूवात गर्नेछ।