आइसिसी महिला यू-१९ विश्वकप छनोट खेलमा नेपाली टिमले शुक्रबार खराब प्रदर्शन गर्यो।
युएईविरुद्धको खेलमा नेपाली टिमले इतिहासकै खराब ब्याटिङ गर्दा नमिठो हार बेहोर्यो।
मलेसियामा यतिबेला महिला यू–१९ टी–२० विश्वकप छनोटका खेलहरू भइरहेका छन्।
महिला यू-१९ विश्वकप पहिलो पटक हुन लागेको हो। यसका लागि एसिया छनोटमा पाँच टोलीको सहभागिता रहेको छ। जसमा नेपाल र युएईसँगै थाइल्याण्ड, भुटान र कतारले पनि खेलिरहेका छन्।
पाँच देशको यो छनोट प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने पहिलो महिला यूऔ१९ टी–२० विश्वकपमा भाग लिन अवसर पाउनेछ।
शनिबार युएईविरुद्ध खेल्न नेपालका खेलाडीहरू उत्साहित थिए। किनभने यसअघि शुक्रबार प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ३८ रनमै अलआउट गरेको थियो। नेपालले ३ विकेटमा ११३ रन बनाएको थियो। नेपालले यो खेल ७९ रनको ठूलो अन्तरले जितेर राम्रो सुरुवात गरेको थियो।
तर युएईसँग सामना गर्न मैदान उत्रिएको नेपाली टोलीलाई यो खेल खराब हुनेवाला छ भन्ने थाहा थिएन।
टसमा नेपाली टोली भाग्यमानी रह्यो। नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो।
दोस्रो ओभरको तेस्रो बलमा नेपालको पहिलो विकेट गएको थियो। त्यतिबेला नेपालले खाता पनि खोलेको थिएन। त्यसपछिको ओभरमा तीन ब्याट्सम्यान पेभिलियन फर्किए। जतिबेला नेपालले ४ विकेटको क्षतिमा २ रन बनाएको थियो।
त्यसपछि चौथो, पाँचौं र छैठौं ओभरमा एक–एक विकेट गयो। सातौं ओभरमा दुई विकेट पतन भयो। र अन्तिम विकेट नवौं ओभरको पहिलो बलमा गएको थियो। ८ ओभर एक बल अर्थात् जम्मा ४९ बलमा नेपालको सम्पूर्ण टोली ८ रन मात्रैमा अलआउट भयो।
नेपाली टोलीका ६ ब्याटरले खाता पनि खोल्न सकेनन्। स्नेहा महराले सर्वाधिक ३ रन बनाइन्। युएईका लागि महिका गौरले बलिङमा उत्कृष्ट खेल देखाइन्। उनले ४ ओभरमा २ रन दिएर ५ विकेट लिइन्। इन्दुजा नन्दकुमारले ६ रन दिएर ३ विकेट लिइन्। युएईका बलरले अतिरिक्त रन दिएनन्।
नेपालका किरण कुमारी कुँवर (१ रन), अन्जली विश्वकर्मा (०), आस्मा पुलामी मगर (१ रन), सना प्रवीन (०), श्रृष्टि जैशी (०), कप्तान कृतिका मरासिनी (०), स्नेहा महारा (३ रन), रन्जु श्रेष्ठ (०), विकेटकिपर अलिसा कुमारी यादव (०), अनु कडायत (१ रन) र मनीषा राना (नटआउट २ रन) बनाएका थिए।
यसपछि ८ रनको लक्ष्य पछ्याएको युएईले एक ओभर र एक बल अर्थात ७ बलमा जितका लागि आवश्यक रन जोडेको थियो। यी ७ बलमा नेपालका बलरहरूले नो बल र वाइड गरेका थिए जसका कारण युएईले थप दुई रन पनि थपेको थियो।
युएईका कप्तान तीर्थ सतीशले सर्वाधिक ४ रन बनाइन्। युएईले १० विकेटले जितेको खेल एक घण्टा चल्दा कुल ९ ओभर र २ बलमा सकिएको थियो।
हारसँगै अर्को वर्ष हुने पहिलो यू-१९ महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा धक्का लागेको छ। छनोटबाट शीर्ष टिम विश्वकपमा छनोट हुने हुँदा यूएई लगातार दुई खेल जित्दै विश्वकपतर्फ अघि बढेको छ। नेपालले अब आयोजक मलेसिया, थाइल्यान्ड र भुटानसँग खेल्न बाँकी छ।
नेपाली महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १५ वर्ष पूरा हुँदा ८ रनमा अलआउट भएको यो पहिलो पटक हो।
नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेटलाई कम प्राथमिकतामा राख्ने गरेको छ। क्यानले महिलाको दुई सिनियर र एउटा यू-१९ प्रतियोगिता आयोजना गर्ने गरेको छ। यस्तै महिलाले कम सेवा सुविधामा खेलिरहेका छन्।
नेपाली यु-१९ महिला टिमले खराब ब्याटिङ गरेपछि पत्रकार तथा विश्लेषक राजन साहले यो हारको जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गरेका छन्।
उनले ट्विटरमार्फत् ‘यो हारको दोष महिला टिमलाई लगाइने तथा आफू महिला टिमको भविष्यलाई लिएर डराएको’ उल्लेख गरेका छन्।