नेपाली राष्ट्रिय टिमका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन्।
विकेटकिपर समेत रहेका आसिफ खुट्टामा समस्या देखिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। कुशलको पनि खुट्टाम नै चोट लागेको छ।
क्यानको मिडिया समितिका अनुसार आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाली टिमका ओपनरद्वय भुर्तेल र शेखले असार २६ मा हुने ओमानविरूद्धको पहिलो खेल खेल्ने पक्का छैन।
टेक्सासमा रहेको नेपाली टिमका दुवै ओपनर घाइते भएपछि विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई अमेरिका पठाउन तयारी भइरहेको छ।
खकुरेल घरेलु मैदानमा तयारी गर्दा टिमसँगै रहेको र उनको प्रदर्शन सन्तोषजनक रहेको क्यानको भनाइ छ।
लिग-२ को सिरिजअघि नेपालले टेक्सासमा दुई अभ्यास खेल खेलेको थियो। अल स्टार्सविरुद्धको पहिलो अभ्यास खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको थियो।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज जेठ २५ देखि सुरू हुँदैछ।
तीन देशबीचको यो अन्तिम त्रिकोणात्मक सिरिज हो। यसअघि तीन देशसम्मिलिन सिरिज नेपाल र ओमानमा भइसकेको छ।
सिरिजमा नेपालले पहिलो खेल ओमानसँग जेठ २६ मा खेल्नेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे तथा स्थानीय समयअनुसार विहान १०:३० बजे खेल सुरु हुनेछ।
सिरिजमा नेपालले दुवै देशसँग दुई दुई खेल गरी जम्मा चार खेल खेल्नेछ।
खेल तालिका
नेपाल भर्सेस ओमान : जेठ २६ : राति ९:१५ बजे (नेपाली समयअनुसार)
नेपाल भर्सेस अमेरिका : जेठ २८ : राति ९:१५ बजे (नेपाली समयअनुसार)
नेपाल भर्सेस ओमान : जेठ ३१ : राति ९:१५ बजे (नेपाली समयअनुसार)
नेपाल भर्सेस अमेरिका : असार १ : राति ९:१५ बजे (नेपाली समयअनुसार)
यो सिरिज लगत्तै नेपालले स्कटल्यान्डमा आफ्नो पाँचौ सिरिज खेल्दैछ। यो सिरिजमा घरेलु टिम स्कटल्यान्ड, नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।
यी तीन देशबीच हुन लागेको यो पहिलो त्रिकोणात्मक सिरिज हो। स्कटल्यान्डमा हुने सिरिजमा नेपालले पहिलो खेल नामिबियासँग खेल्नेछ। सो खेल असार २७ मा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जनाएको छ।
खेल तालिका
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड - असार २९
नेपाल भर्सेस नामिबिया - असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १