आइसिसी महिला यू-१९ टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। नेपालले सोमबार मलेसियामा भएको खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको हो।
भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर पार गर्यो। नेपालका लागि सन्जु राजवंशीले नटआउट ३० रन जोडिन्। उनले ३२ बलमा ५ चौका हिर्काइन्। सना प्रवीनले १२ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आएट भए।
नेपालका ओपनरद्वय किरणकुमारी कुँवर २ रन र स्नेहा महरा ० मा आउट भए। आस्मा पुलामी मगर ३ रन, कप्तान कृतिका मरासिनी २ रन र सृष्टि जैशी ८ रनमा आउट भए। अलिसाकुमारी यादव २ रनमा नटआउट रहिन्।
बलिङमा भुटानकी साङ्गे वाङमोले ३ विकेट लिइन्। अन्जुली घले र सोनमले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन जोड्यो। भुटानका लागि नवाङ चोडेन र साङ्गे वाङमोले ११-११ रन जोड्दा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा नेपालकी अनु कडायत, मनिषा उपाध्याय र कप्तान कृतिक मरासिनीले २-२ विकेट लिए। स्नेहा महराले १ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। तर दोस्रो खेलमा युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो।
अब नेपालले थाइल्यान्ड र आयोजक मलेसियासँग खेल्न बाँकी छ। प्रतियोगिताको शीर्ष टिम आगामी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनेछ।