आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले ओमानविरूद्ध प्रतिस्पर्धा गर्दैछ। घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो।
खेल टेक्सासको पर्लल्यान्डस्थित मोसा रंगशालामा नेपाली समयअनुसार राति ९:१५ मा सुरू हुनेछ।
हिजोदेखि सुरू भएको सिरिजमा घरेलु टिम अमेरिकाले विजयी सुरुवात गरिसकेको छ। अमेरिकाले ओमानमाथि ११४ रनको फराकिलो अन्तरको जित निकालेको थियो।
आजको खेलमा नेपालको मूख्य चिन्ता ओनपिङ ब्याटिङ रहेको छ। नियमित ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेफ फिट नभएका कारण प्रशिक्षक पुबुदु दसानायकेले नयाँ ब्याट्सम्यानलाई ओपनिङमा पठाउने सम्भावना छ।
जारी लिग-२ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल अंक तालिकामा छैठौं स्थानमा छ।
शीर्ष स्थानको ओमानको ३३ खेलबाट ४० अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २१ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग-२ मा नेपाल सबैभन्दा कम खेल खेल्ने टिम हो।