युएई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने आइसिसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट भएको छ।
विश्वकपअन्तर्गत एसिया छनोटमा च्याम्पियन बन्दै युएईले पहिलो पटक हुन लागेको महिला युवा विश्वकपमा स्थान पक्का गरेको हो।
बिहीबार भएको छनोटको अन्तिम तथा निर्णायक खेलमा युएईले थाइल्यान्डलाई ६ विकेटले पराजित गर्यो।
प्रतियोगितामा सबै पाँचै खेल जितेको युएईले थाइल्यान्डले दिएको ८५ रनको लक्ष्य १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
युएईको जितमा तिर्था सतिसले नटआउट ३८ रन जोडिन्। उनले ३८ बलमा ४ चौका प्रहार गरिन्।
हारसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने लक्ष्य भने पूरा भएन। यसअघि लगातार चार खेलमा जित निकालेको थाइल्यान्ड निर्णायक खेलमा युएईसँग पराजित भएसँगै प्रतियोगितामा दोस्रो भयो।
यता युएई र थाइल्यान्डसँग पराजित भएको नेपाल भने प्रतियोगितामा तेस्रो भयो। नेपालले भुटान, कतार र आयोजक मलेसियालाई भने हराएको थियो।