आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक सिरिजमा अहिले नेपालले ओमानविरूद्ध खेलिरहेको छ।
अमेरिकाको टेक्सासमा जारी खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
खेलमा नेपालका बलर करण केसीले ओमानका ओपनर काश्यप प्रजापतीलाई पहिलो बलमै आउट गरेका छन्। प्रजापतीलाई एलबिडब्लूको धरापमा पारेसँगै करणले इनिङ्ग्सको पहिलो बलमै विकेट लिएका हुन्।
बिबिसीका अनुसार क्रिकेटमा पहिलो इनिङ्ग्सको पहिलो बलमा आउट हुँदा त्यसलाई 'प्लाटिनम वा रोयल डक' भनिन्छ।
खेलमा सुनील धमलाले एकदिवसीय खेलमा डेब्यू गरेका छन्।
नेपाली टिम
सन्दीप लामिछाने, आरिफ शेख, विनोद भण्डारी, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, रोहितकुमार पौडेल, सोमपाल कामी, सुनील धमला, सुसन भारी, सुवास खकुरेल
घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल खेलिरहेको हो।
हिजोदेखि सुरू भएको सिरिजमा घरेलु टिम अमेरिकाले विजयी सुरुवात गरिसकेको छ। अमेरिकाले ओमानमाथि ११४ रनको फराकिलो अन्तरको जित निकालेको थियो।
जारी लिग-२ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल अंक तालिकामा छैठौं स्थानमा छ।
शीर्ष स्थानको ओमानको ३३ खेलबाट ४० अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २१ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग-२ मा नेपाल सबैभन्दा कम खेल खेल्ने टिम हो।