आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। शुक्रबार विहान सकिएको खेलमा नेपाललाई ओमानले १३ रनले पराजित गर्यो।
ओमान, अमेरिका र नेपालबीचको यो त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले भने पहिलो जित निकाल्यो। यसअघि बिहीबार विहान सकिएको खेलमा ओमानलाई घरेलु टिम अमेरिकाले पराजित गरेको थियो।
अमेरिकाको टेक्सासमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा १९८ रनमै अलआउट भयो।
नेपालका लागि आरिफ शेखले ६६ रन जोडे। उनले ७९ बलमा ६ चौका हिर्काए।
ओपनरद्वय सुवास खकुरेल ३ रन र सुनील धमला १२ रनमा आउट भए। त्यसपछि देव खनाल ३४ रन र रोहित पौडेल २० रन जोडेर पेभेलियन फर्के।
दीपेन्द्रसिंह ऐरीले १६ रन र विनोद भण्डारीले १४ रन भन्दा बढी जोड्न सकेनन्। भण्डारीले ४२ बल खेल्दा चौका/छक्का हिर्काउन सकेनन्।
करण केसी ८ रन, सोमपाल कामी १३ रन र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए।
बलिङमा ओमानका जीशन मक्सूद र खावर अलीले ३-३ विकेट लिए। विलाल खानले २ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा २११ रन जोड्यो।
उसका लागि कप्तान जीशन मक्सूदले शतक प्रहार गरे। उनले नटआउट १०४ रन जोड्ने क्रममा १२६ बलम १२ चौका हिर्काए।
सोएब खानले २७ रन र खावर अलीले ३० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा नेपालका करण केसीले ५ विकेट लिए। उनले १० ओभमा ३८ रन खर्चिए। ओमानका ओपनर कश्यप प्रजापतीलाई इनिङ्ग्सको पहिलो बलमै आउट गरेका करणले अर्का ओपनर जतिन्दर सिंहलाई पनि एलबिडब्लूकै धरापमा पारेका थिए।
कप्तान सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामीले १ विकेट हात पारे।