आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको टेक्सासमा शुक्रबार विहान सकिएको खेलमा नेपाललाई ओमानले १३ रनले पराजित गर्यो।
घरेलु टिम अमेरिका, ओमान र नेपालबीचको यो त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले खराब ब्याटिङका कारण आफ्नो पहिलो खेल गुमाउनु पर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले ८ विकेटको क्षतिमा २११ रनमै रोकेको थियो। ओमानलाई सामान्य योगफलमा रोक्के क्रममा करण केसीले कीर्तिमानी बलिङ गरे।
करणले एकदिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिन सफल भए। उनले १० ओभरमा ५ विकेट लिँदा ३८ रन खर्चिए।
करण नेपालका लागि एकदिवसीय खेलको एकै इनिङ्ग्समा पाँच वा बढी विकेट लिने तेस्रो खेलाडी हुन्।
यसअघि सोमपाल कामीले नेपालका लागि एकदिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिने इतिहास रचेका थिए। सोमपालले सन् २०१९ मा युएईविरूद्ध ५५ विकेट लिँदा ३३ रन खर्चिएका थिए।
कप्तान सन्दीप लामिछानले भने एकै इनिङ्ग्ग्समा दुई पटक ६ विकेट लिएका छन्। सन् २०२१ मा ओमानमा भएको खेलमा पिएनजीविरूद्ध सन्दीपले ६ विकेट लिँदा ११ रन मात्र दिएका थिए। यो नेपालका लागि एकदिवसीय खेलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो। त्यसअघि उनले २०२० मा अमेरिकाविरूद्ध घरेलु मैदानमा ६ विकेट लिँदा १६ रन खर्चिएका थिए।
शुक्रबार पाँच विकेट लिएसँगै करण नेपालका लागि टी-२० र एकदिवसीय दुवै फर्म्याटमा एक इनिङ्ग्ग्समा पाँच विकेट लिने पहिलो खेलाडी बने।
यसअघि करणले पिएनजीविरूद्ध घरेलु मैदानमा भएको टी-२० खेलमा ५ विकेट लिँदा २१ रन खर्चिएका थिए। टी-२० मा नेपाली बलरको यो उत्कृष्ट प्रदर्शन हो।
करणले शुक्रबार ओमानका ओपनरद्वय कश्यप प्रजापतीलाई ० र जतिन्दर सिंहलाई ११ रनमा एलबिडब्लूको धरापमा पारेका थिए।
यस्तै आयन खानलाई करणले सोमपाल कामीबाट ८ रनमा क्याच गराएका थिए। उनले फयज बटलाई ९ रन र सुरज कुमारलाई १२ रनमा बोल्ड गरे।
करणले कीर्तिमानी बलिङ गरे पनि २१२ रनको लक्ष्य नेपालले भट्टाउन सकेन। नेपाल दुई बल खेल्न बाँकी १९८ रनमै अलआउट भएको थियो। नेपालका लगि आरिफ शेखले सबैभन्दा बढी ६६ रन जोडेका थिए।
सिरिजमा नेपालले आफ्नो दोस्रो खेल अब भोलि राति अमेरिकासँग खेल्नेछ।