आइसिसी क्रिकेट विश्वकप लिग–२अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो खेलमा पराजित भयो।
शुक्रबार विहान अमेरिकाको टेक्सासमा सकिएको खेलमा नेपाललाई ओमानले १३ रनले पराजित गर्यो।
खेलपछि पत्रकारहरूसँगको कुराकानीमा कप्तान सन्दीप लामिछानेले ब्याटिङमा चुक्दा सामान्य लक्ष्य पनि भेट्टाउन नसकेको प्रतिक्रिया दिए।
आवश्यक परेको बेलामा साझेदारी गर्न नसक्नु नेपालको समस्या भएको उनको भनाइ थियो।
उनले भने, ‘हामी ब्याटिङमा चुक्न पुग्यौं। साझेदारी राम्रो गरिरहेको बेलामा विकेटहरु धमाधम गुमाउनुपर्यो। हामीलाई जुनबेला साझेदारी र रनरेट चाहिएको थियो, त्यो बेला उल्टो गरिरहेका थियौं। हामीले धेरै बल डट पनि खायौं। त्यो हाम्रो कमजोरी हो।’
सन्दीपले २१२ रनको लक्ष्य पूरा गर्न नसक्नु नेपालको पूरै ब्याटिङ युनिट असफल भएको बताए। साथै नेपाली टिम युवा भएकाले धेरै कुरा सिकिरहेको उनको भनाइ थियो।
उनले सिरिजामा बाँकी रहेका तीन खेलले पनि अंक तालिकामा फेरबदल हुन सक्ने बताए।
नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २० खेलबाट १८ अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ।
अब नेपालले दोस्रो खेलमा आयोजक अमेरिकाविरुद्ध शनिबार राति खेल्नेछ।
नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ।