आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। टेक्सासको मोरा रंगशालामा नेपालले टस जितेर ब्याटिङ गरेको हो।
नेपाल, अमेरिका र ओमानबीचको यो त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो।
अमेरिकाविरुद्धको खेलमा आक्रामक ब्याट्सम्यान आदिल अन्सारीले डेब्यू गरेका छन्। उनलाई विनोद भण्डारीको स्थानमा खेलाइएको हो।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आरिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने (कप्तान), सोमपाल कामी, सुनील धमला, सुसन भारी
को हुन् आदिल अन्सारी?
बारा सिम्रौनगढका आदिल अन्सारीले गत चैतमा टी-२० टिममा डेब्यू गरेका थिए।
गत मंसिरमा यू-१९ राष्ट्रिय प्रतियोगितामा आक्रामक ब्याटिङ गरेका उनले त्यसपछि सिनियर टिममा पर्दै प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता खेले।
यो बीचमा उनले नेपालको यू-१९ टिममा पर्दै एसिया कप समेत खेले। दुई साताअघि त उनी नेपालको टी-२० टिममा समेत पर्न सफल भए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा चैतमा भएको नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० सिरिजको सुरूवाती दुई खेलमा भने उनी टिममा अटाउन सकेनन्।
तेस्रो पिएनजीविरूद्धको खेलमा भने उनलाई कुशल मल्लको स्थानमा मौका दिइयो। क्रिकेट बृत्तमा चर्चामा आएको ६ महिना नबित्दै डेब्यूको मौका पाएका उनले राष्ट्रिय टिममा आएको सुनौलो अवसर खेर जान दिएनन्।
पाँचौ नम्बरमा ब्याटिङको मौका पाएका उनले खेलमा ११ बलमा ३१ रन जोडे। जसमा उनले १ चौका र ३ छक्का प्रहार गर्न सफल भए।
उनी मैदान छिर्दा १५ ओभर चलिरहेको थियो। नेपालले ३ विकेट गुमाएर १२३ रन जोडेको थियो।
त्यसपछि उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। उनले र दीपेन्द्रले ४.४ ओभर मात्र खेल्दा ७७ रन जोड्न सफल भए।
आदिलले १९औं ओभरमा लगातार तीन छक्का हिर्काएका थिए। पिएनजीका पोकनाविरूद्ध उनले दोस्रो बलमा पहिलो छक्का हिर्काएका थिए। लगत्तैको बल नो-बल हुँदा त्यसमा पनि उनले छक्का हिर्काए। त्यसपछि फ्रिहिटमा उनले अर्को छक्का प्रहार गरेका थिए। पहिलो बलमा पनि चौका र चौथो बलमा तीन रन लिएका उनले ओभरको चार बलमा २६ रन जोडेका थिए।
उनी अन्तिम ओभरको दोस्रो बलमा पिएनजीका मोरिआको बलमा एलबिडब्लूको धरापमा पर्दै पेभिलियन फर्किएका थिए।
अन्सारी र दीपेन्द्रको आक्रामक ब्याटिङसँगै नेपालले ७ विकेटको क्षतिमा २०३ रन जोड्न सफल भयो। जवाफी ब्याटिङ गरेको पिएनजीविरूद्ध करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए। खेल नेपालले ३७ रनले जित्यो।
अन्सारीले मैदान छिर्दा आफ्नो ‘नेचुरल खेल’ खेल्ने सोचेर गएको बताएका थिए।
‘मैदान जादा खासै केही सोचेर गएको थिइन। आफ्नो खेल खेल्छु भन्ने मात्र थियो। विकेट गएको अवस्था थियो। इनिङ्ग्सलाई माथि लैजानु पर्ने अवस्था थियो। अन्तिममा राम्रो बल पाएकाले रन प्रहार गरे,’ उनको भनाइ थियो।
सुरूकै बलमा एक रन लिएका उनले सुरुवाती ५ बलमा ६ रन मात्र जोडेका थिए। छैटौं बलदेखि भने उनी आक्रामक रूपमा प्रस्तुत भएका थिए।
‘पहिलो रन लिएपछि आत्मविश्वास बढ्यो। राम्रो खेल्ने आसा बोकेर गएको थिएंँ। डेब्यूमै राम्रो ब्याटिङ गर्न सक्दा एकदमै खुसी लागेको छ,’ उनले डेब्यू खेलमा आफ्नो ब्याटिङबारे अघि भनेका थिए,'लगातार हान्ने कन्डिसन थियो। त्यसैले हानेको हुँ। तीन वटा छक्का मध्ये मलाई हेलिकप्टर सट एकदमै मन परेको छ।’
पाँच महिनाभित्रमा यू-१९ राष्ट्रिय प्रतियोगितादेखि राष्ट्रिय टिमबाट खेलेपछि अन्सारीले आफूले यति चाँडै राष्ट्रिय टिममा खेल्न पाउँछु भनेर नसोचेको बताएका थिए।
‘यति चाँडै नेपाली टिममा खेल्न पाउँछु भनेर लागेको थिएन। तर मिहिनेत गरिरहेको थिए। मिहिनेतको फल अलि चाँडै पाएको छु,’ उनले भने।
डेब्यू खेल भएकाले उनलाई सुरूमा भने केही दबाब महसुस भएको थियो। किनकी उनलाई आक्रामक ब्याटिङ गर्न सक्ने खुबीका कारण टिममा राखिएको थियो।
‘राष्ट्रिय टिममा पनि ठूला सट प्रहार गर्न अलि दबाब त थियो। तर मैले त्यसका लागि अभ्यास गरेको थिए। मलाई जाने बित्तिकै हान्न सजिलो हुन्छ,’ उनले आफ्नो भूमीकाबारे भनेका थिए, ‘टिमले मलाई एकछिन खेललाई अघि बढाउने अनि हान्ने रोल दिएको थियो।’
दायाँ हाते ब्याट्सम्यान अन्सारी आक्रामक ब्याटिङका कारण गत मंसिरमा चर्चामा आएका थिए। उनी मध्यम गतिमा बलिङ समेत गर्छन्।
उनले यू-१९ राष्ट्रिय क्रिकेटअन्तर्गत सुदूरपश्चिमविरूद्ध ४३ बलमा अविजित ८७ रन बनाएका थिए। मधेश प्रदेश (तत्कालिन प्रदेश २) ले २ विकेटको जित निकालेको थियो खेलमा उनले उनले ७ चौका र ६ छक्का प्रहार गरेपछि सुदूपश्चिमका आर्जुन साउदले सोहि खेलमा बनाएको शतक छायाँमा परेको थियो।
त्यसअघि उनले यू-१९ को क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। २३ बलमा ५० रन हानेपछि उनले प्रदेश टिमको ढोका खोलेका थिए।
राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै अन्सारी नेपालको यू-१९ राष्ट्रिय टिममा परे। युएईमा भएको यू-१९ एसिया कपमा तीन खेलमा ५७ रन जोड्दा ३ विकेट लिएका थिए। उनले प्रतियोगिता कुवेतविरूद्ध ४९ रन जोडेका थिए।
यू-१९ राष्ट्रिय टिममा परेसँगै उनी मधेशको सिनियर टिममा पनि पर्न सफल भए। मधेशको सिनियर टिमबाट प्रधानमन्त्री कप खेल्दा उनले एपिएफविरूद्ध ३५ रन जोडेका थिए।
राष्ट्रिय स्तरमा चर्चामा आउनुअघि अन्सारीले प्रदेश २ का स्थानीय प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। क्षेत्रीय स्तरमा उत्कृष्ट प्रदर्शनसँगै उनलाई राष्ट्रिय क्रिकेटर अनिलकुमार साहले सहयोग गरे।
‘अनिल दाइको सहयोगले यहाँसम्म आइपुगेको हुँ,’ यू-१९ प्रतियोगितामा सूदूरपश्चिमविरूद्ध आक्रामक इनिङ खेलेपछि उनले भनेका थिए।