बारा सिम्रौनगढका १८ वर्षीय आदिल अन्सारी ६ महिना यता नेपाली क्रिकेट बृत्तमा चर्चामा छन्।
गत मंसिरमा यू-१९ राष्ट्रिय प्रतियोगितामा आक्रामक ब्याटिङ गरेका उनले त्यसपछि प्रदेशको सिनियर टिममा पर्दै प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता खेले।
यो बीचमा उनले नेपालको यू-१९ टिममा पर्दै एसिया कप समेत खेले। यू-१९ क्रिकेट खेलेको उनी चार महिना भित्र नेपालको टी-२० राष्ट्रिय टिममा पर्न सफल भए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा गत चैतमा नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक टी-२० सिरिजमा उनी राष्ट्रिय टिममा परेका थिए। सुरूवाती खेलमा मौका नपाएका उनले पिएनजीविरूद्धको तेस्रो खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
डेब्यू खेलमै उनले उत्कृष्ट ब्याटिङ गर्दै यादगार बनाएका थिए। पाँचौ नम्बरमा ब्याटिङ गर्दै उनले ११ बलमा ३१ रन जोडेका थिए। जसमा उनले १ चौका र ३ छक्का प्रहार गर्न सफल भए।
टी-२० टिममा आफ्नो प्रतिभा देखाएका आदिललाई नेपालको एकदिवसीय टिममा पर्न समय लागेन। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा उनी एकदिवसीय राष्ट्रिय टिममा समेटिए।
अमेरिकामा जारी सिरिजमा ओमानविरूद्धको पहिलो खेलमा भने उनले मौका पाउन सकेनन्। शनिबार राति भएको अमेरिकाविरूद्धको दोस्रो खेलमा भने उनले मौका पाए।
टी-२० जस्तै एकदिवसीय खेलमा उनले मौका खेर फालेनन्। उनले पाँचौ नम्बरमा ब्याटिङ गर्दै २४ बलमा ३६ रन जोडे। जसका लागि उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।
मध्यम गतिका बलर अन्सारीले बलिङमा महत्वपूर्ण तीन विकेट लिएका थिए। ९ ओभरमा ३ विकेट लिँदा उनले ४५ रन खर्चिएका थिए।
अमेरिकाका ओपनर स्टेभिन टेलरलाई ४४औं ओभरमा उनले ११४ रन बनाएर खेलिरहदा कप्तान सन्दीप लामिछानेबाट क्याच गराएका थिए। यस्तै उनले ४६औं ओभरमा गजानन्द सिंहलाई ४ रनमा बोल्ड गरेका थिए।
पहिले ब्याटिङ गरेको नेपाल चार बल खेल्न बाँकी छदा २७४ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाविरूद्ध आदिलले अन्तिम ओभरमा बलिङ गरेका थिए।
अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो भने उसको ४ विकेट मात्र गुमेको थियो।
यस्तोमा आदिलले सुरूवाती तीन बलमा तीन रन मात्र दिएका थिए। त्यसपछि आदिलले नो बल फ्याँक्न पुगेका थिए। चौथो बलको फ्रि हिटमा उनले १ रन मात्र दिए। चौथो बलमा १ रन जोडेपछि अमेरिका र नेपालको समान २७४-२७४ रन भएको थियो।
पाँचौ बलमा अलामले अमेरिकाका आरोन जोन्सलाई रोहित पौडेलको हातबाट क्याच गराए।
अन्तिम बलमा एक रन चाहिएको अमेरिकाविरूद्ध आदिलले चलाखीपूर्ण बलिङ गरे।
अन्तिम बलमा रन लिनेक्रममा अमेरिकाका राहुल जरिवाला रनआउट हुन पुगे। जसका कारण खेल बराबरी भयो र आदिलले नेपाललाई सम्भावित हारबाट जोगाए।
बराबरीसँगै नेपालले लिग-२ को अंक तालिकामा एक अंक थप्न सफल भयो।
अन्सारी आफ्नो ‘नेचुरल खेल’ खेल्न रूचाउँछन्। त्यो भनेको आक्रामक ब्याटिङ हो। रनरेटलाई बढाउने जिम्मेवारीका साथ ब्याटिङ गर्ने अन्सारी विपक्षी बलरको कमजोरीलाई सदुपयोग गर्दै ‘पावर हिट’ हान्न माहिर छन्। यसका साथै टिमलाई चाहिएको बेला उनी मध्यम गतिको बलिङ समेत गर्छन्।
टी-२० खेलमा डेब्यूमै उत्कृष्ट ब्याटिङ गर्दा उनी निकै खुसी देखिएका थिए। उनको भनाइ थियो, 'लगातार हान्ने कन्डिसन थियो। त्यसैले हानेको हुँ। तीन वटा छक्का मध्ये मलाई हेलिकप्टर सट एकदमै मन परेको छ।’
पाँच महिनाभित्रमा यू-१९ राष्ट्रिय प्रतियोगितादेखि राष्ट्रिय टिमबाट खेलेका अन्सारीले आफूले यति चाँडै राष्ट्रिय टिममा मौका पाउनेबारे सोचेका थिएनन्।
‘यति चाँडै नेपाली टिममा खेल्न पाउँछु भनेर लागेको थिएन। तर मिहिनेत गरिरहेको थिए। मिहिनेतको फल अलि चाँडै पाएको छु,’ राष्ट्रिय टिममा डेब्यूपछि उनको भनाइ थियो।
उनलाई आक्रामक ब्याटिङ गर्न सक्ने खुबीका कारण टिममा राखिएकाले सधैं रन बनाउने दबाब भने हुने गर्छ।
‘राष्ट्रिय टिममा पनि ठूला सट प्रहार गर्न अलि दबाब त थियो। तर मैले त्यसका लागि अभ्यास गरेको थिए। मलाई जाने बित्तिकै हान्न सजिलो हुन्छ,’ आफ्नो भूमीकाबारे उनको भनाइ छ।
दायाँ हाते ब्याट्सम्यान अन्सारी आक्रामक ब्याटिङका कारण गत मंसिरमा चर्चामा आएका थिए।
उनले यू-१९ राष्ट्रिय क्रिकेटअन्तर्गत सुदूरपश्चिमविरूद्ध ४३ बलमा अविजित ८७ रन बनाएका थिए। मधेश प्रदेश (तत्कालिन प्रदेश २) ले २ विकेटको जित निकालेको थियो खेलमा उनले उनले ७ चौका र ६ छक्का प्रहार गरेपछि सुदूपश्चिमका आर्जुन साउदले सोहि खेलमा बनाएको शतक छायाँमा परेको थियो।
त्यसअघि उनले यू-१९ को क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। २३ बलमा ५० रन हानेपछि उनले प्रदेश टिमको ढोका खोलेका थिए।
राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै अन्सारी नेपालको यू-१९ राष्ट्रिय टिममा परे। युएईमा भएको यू-१९ एसिया कपमा तीन खेलमा ५७ रन जोड्दा ३ विकेट लिएका थिए। उनले प्रतियोगिता कुवेतविरूद्ध ४९ रन जोडेका थिए।
यू-१९ राष्ट्रिय टिममा परेसँगै उनी मधेशको सिनियर टिममा पनि पर्न सफल भए। मधेशको सिनियर टिमबाट प्रधानमन्त्री कप खेल्दा उनले एपिएफविरूद्ध ३५ रन जोडेका थिए।
राष्ट्रिय स्तरमा चर्चामा आउनुअघि अन्सारीले प्रदेश २ का स्थानीय प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। क्षेत्रीय स्तरमा उत्कृष्ट प्रदर्शनसँगै उनलाई राष्ट्रिय क्रिकेटर अनिलकुमार साहले सहयोग गरे।
‘अनिल दाइको सहयोगले यहाँसम्म आइपुगेको हुँ,’ यू-१९ प्रतियोगितामा सूदूरपश्चिमविरूद्ध आक्रामक इनिङ खेलेपछि उनले भनेका थिए।