आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत ओमानले अमेरिकालाई हराएको छ।
सिरिजको दोस्रो अन्तिम खेलमा ओमानले घरेलु टोली अमेरिकालाई १३ रनले हरायो।
ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६७ रनमा समेटियो।
उसका लागि आरोन जोनेशले सर्वाधिक ९७ रनको इनिङ्स खेल्दा ओपनर स्टेभेन टेलरले ७९ रन जोडे।
निशर्ग पटेलले ३५ रन बनाउँदा नोसतोस केन्जीले नटआउट २२ रन बनाए पनि हार टार्न सकेनन्।
अमेरिकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अमेरिकालाई सस्तैमा रोक्न ओमानका जिशन मक्सदले सर्वाधिक ४ विकेट लिए। विलाल खानले ३ विकेट हात पारे।
यसअघि अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २८० रन बनाएको थियो। उसका लागि ओपनर कस्यप प्रजापतिले सतकीय इनिङ्स खेले। लिगमा पहिलो सतक प्रहार गर्ने क्रममा प्रजापतिले ११५ बलमा ८ चौका र १ छक्कासहित १०३ रन बनाए।
यस्तै जितेन्दर सिंहले ६७ रन बनाउँदा सोहिब खानले ५१ रन बनाए।
कप्तान जिसन मक्सदले ३५ रन जोडे।
अमेरिकाका लागि सौरभ नेत्राभाल्कर, कामेरून स्टेन्सन, रूस्ती थेरून् र नोस्तुस केन्जीले समान १-१ विकेट लिए।
यो जितसँगै ओमानले लिगमा ३५ खेलबाट २१ जितसहित ४४ अंक जोडेको छ।
पराजित अमेरिका २३ खेलबाट २१ अंकसहित तालिकाको चौथो स्थानमा छ। ओमानले अब प्रतियोगिताको अन्तिम खेल नेपालसँग खेल्नेछ।