नेपाल र भारतका स्ट्यान्डिङ क्रिकेट टिमले गत शनिबारदेखि मूलपानी मैदानमा तीन खेलको टी-२० सिरिज खेले।
पहिलो दुई खेल जित्दै भारतले सिरिजको उपाधि जित्यो। सोमबार भएको तेस्रो खेलमा भने नेपालले जित निकाल्यो। नेपालले अन्तिम खेलमा भारतलाई १ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको भारत १८.४ ओभरमा ९० रनमा अलआउट भएको थियो। भारतका लागि जमीर पठानले १७ रन जोडे। बलिङमा नेपालका सुमन बरालले ४ विकेट लिए।
९१ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर १९ ओभरमा पूरा गर्यो। नेपालको जितमा कुन्ज चौधरीले नटआउट २० रन जोडे। ओपनर डम्बरबहादुर मगरले २३ रनको योगदान गरे।
सिरिज ह्विलचियर क्रिकेट एसोसिएसनको आयोजनामा भएको हो। यसअघि ह्विलचियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिका लागि क्रिकेट खेलाउने गरिएकोमा यसपटक भने हिँड्डुल गर्न सक्ने अपाङ्गता भएका व्यक्तिहरूका निमित्त सिरिज आयोजना गरिएको हो।
प्रतियोगितामा दौडन नसक्ने व्यक्तिको सट्टामा अतिरिक्त रनर राख्न पाउने नियम थियो। बाँकी सबै नियम आइसिसीकै अनुसारको नियममा खेलाइएको थियो।
नेपाली स्ट्यान्डिङ क्रिकेट टिम सन् २०१७ मा बनाइएको हो। टिमले भारत र बंगलादेशमा भएर सिरिज खेलिसकेको छ। नेपाली टिमको कप्तानमा आरपी खरेल रहेका छन्।