सन् २०१७ मा नेपालको स्ट्यान्डिङ राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने प्रस्ताव आएको दिन रामप्रसाद खरेल (आरपी) का लागि जीवनकै अविस्मरणीय क्षण हो।
सानैमा दाहिने हात गुमाएका आरपीका लागि त्यो प्रस्ताव चुनौतीपूर्ण मात्र थिएन, एउटा सुनौलो अवसर पनि थियो। बाल्यकालमा रमाइलोका लागि क्रिकेट खेल्ने आरपीले राष्ट्रिय जर्सीमा क्रिकेट खेल्नेबारे कहिल्यै सोचेका थिएनन्।
क्रिकेटका पारखी आरपीले देशको जर्सीमा मैदान उत्रिने अवसर किन गुमाउँथे र!
ह्विलचियर क्रिकेट एसोसिएसनका अध्यक्ष छुल्ठिम शेर्पाले ल्याएको उक्त प्रस्ताव सहजै स्वीकार गरे। अनि ब्याट र बल बोकेर आफूजस्तै हिँडडुल गर्न सक्ने अपांगता भएका साथीहरूसँग अभ्यास गर्न थाले। त्यति बेलासम्म नेपालमा ह्विलचियरमा बसेर क्रिकेट खेल्ने टिम तयार थियो। तर स्ट्यान्टिङ क्रिकेट टिम बनिसकेको थिएन।
त्यसैले हिँडडुल गर्न सक्ने अपांगता भएकाको टिम (स्ट्यान्डिङ क्रिकेट टिम) तयार गर्न शेर्पाले आरपीसहितका खेलाडीलाई काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा भेला गराएका थिए। स्ट्यान्डिङ क्रिकेटमा अतिरिक्त रनर राख्नेबाहेक अरू सबै नियम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) कै हुन्छ।
क्रिकेट वातावरणमा हुर्किएका आरपी उपस्थितमध्येमा क्रिकेटबारे जानकार थिए। नेतृत्व गर्न सक्ने क्षमता पनि भएकाले उनले कप्तानको जिम्मेवारी पाए।
कप्तानको जिम्मेवारी पाएपछि उनको नेतृत्वमा नेपालले भारत र बंगलादेशमा गएर क्रिकेट सिरिज खेलिसकेको छ। टिमले यसै साता मूलपानी मैदानमा भारतसँग तीन खेलको टी-२० सिरिज खेल्यो। सोमबार सकिएको सिरिजका सुरूआती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा एक विकेटको जित हात पार्यो।
राष्ट्रिय टिमको नेतृत्व गरिरहेका आरपीले सानैमा दुर्घटनामा पार्दा आफ्नो दाहिने हात गुमाएका थिए। गुल्मीको आँपचौरमा जन्मिएका आरपी दुई वर्षको हुँदा परिवार नवलपरासी सर्यो। उनी पाँच वर्षका थिए। बुबासँगै धान कुट्ने मिल गएका थिए।
धान कुट्ने मेसिन घुमाउने फलामको डन्डी बाहिर निस्किएको हुन्थ्यो। जब मेसिन चल्थ्यो त्यो डन्डी पनि रफ्तारले घुम्थ्यो। आरपीसहित चार-पाँच जना बच्चाहरू चलिरहेको त्यो डन्डीमा चुम्बक फालिरहेका थिए। समय मिलाउँदै त्यो घुमिरहेको डन्डीबाट चुम्बक पनि झिकिरहेका थिए।
'निकाल्ने समय मिलेन वा धकेलियो, केही थाहा भएन। म डन्डीमा परेँ। दाँहिने हात डन्डीले घुमाइरह्यो। हड्डीले सपोर्ट गर्न छाडेपछि डन्डीबाट मुक्त भएँ। दाहिने हात माथिबाट काट्नुपर्यो,' दु:खद् घटनाबारे आरपीले संक्षिप्तमा भने।
दुर्घटनामा उनका एक साथीको निधन भएको थियो। त्यो बेलाको सामाजिक परिवेश अपांगता भएका व्यक्तिहरूलाई सहज थिएन।
'आजभन्दा २५ वर्षअघि अपांगता भएकालाई हेरिने नजर राम्रो थिएन। त्यसैले पारिवारिक सल्लाह त्यहाँ बस्नु हुँदैन भन्ने थियो। अंकलहरूको सहयोगले काठमाडौंको नारायणटारस्थित एसओएस बालग्राममा बसेर पढ्न थाले,' उनले भने।
बस्ने स्थान अपांगमैत्री भएकाले उनलाई आफू अपांगजस्तो महसुस कहिल्यै नभएको बताउँछन्।
पढ्ने क्रममा टोलका सिनियरले क्रिकेट खेलेको देख्थे। त्यही माहोलमा उनी बिस्तारै क्रिकेट खेल्न थाले।
'अपांगता नभएकाहरूसँग नै क्रिकेट खेल्थेँ। अपांग संघभित्र मैदान भएकाले बाहिर टोलका दाइहरू त्यहाँ खेल्न आउनु हुन्थ्यो। उहाँहरूसँग खेल्न थालेँ,' आरपी आफ्नो बाल्यकाल सम्झिन्छन्।
उनी आफ्नो टिमको ओपनिङ बलरका रूपमा परिचित भइसकेका थिए। सबैले उनलाई खेल्न प्रोत्साहन गरिरहन्थे।
'बाल्यकालदेखि नै अपांगमैत्री वातावरणमा बसेकाले तथा आफ्नो रूचिमा क्षमता देखाउन सकेकाले होला मैले चुनौती र विभेद भोग्नु परेन,' उनले भने, 'मैले खेलेको देखेर उहाँहरूको सोचाइ नै परिवर्तन भयो होला जस्तो लाग्छ। किनभने मलाई अवसर नदिऊँभन्दा पनि यसले चाहिँ खेल्छ, यसले गर्न सक्छ भन्ने सोचाइले मैले धेरै नै अवसर पाएँ।'
उनले टोलकै सामाजिक युवा क्लबबाट पनि क्रिकेट खेले। स्थानीय क्लबबाट खेलेका उनले व्यावसायिक रूपमा अघि बढ्छु भन्ने कहिल्यै सोचेनन्। मात्र उनले क्रिकेटलाई एउटा आफ्नो मन पर्ने खेलको रूपमा लिए।
योबीचमा उनको विवाह भयो। त्यसपछि उनी आफ्नै काम गर्ने योजनामा अघि बढे।
समाजशास्त्रमा स्नातक गरिरहेका उनी हाल स्पाइनल इन्जुरी संघ नेपालअन्तर्गत भ्वाइस रिह्याबिलिटेसन प्रोजेक्टमा काम गर्छन्। यो संस्थाले अपांगता भएका व्यक्तिलाई सीपमूलक काम सिकाएर स्वरोजगार बनाउने गरेको छ।
आफ्नै काम गरेर अघि बढ्ने योजना बनाइरहेका बेला राष्ट्रका लागि आएको जिम्मेवारी उनले सहजै स्वीकार गरेका थिए। स्ट्यान्डिङ क्रिकेट टिमको कप्तान बनेको पाँच वर्ष हुँदा अब उनी टिमलाई अझै सफलताको बाटोमा डोहोर्याउन चाहन्छन्।
'हामीले खेल्न थालेको पाँच वर्ष लागिसक्यो। अब अन्तर्राष्ट्रियस्तरमा पनि सफलता हात पार्नु पर्छ,' मूलपानी मैदानमा भेटिएका उनले आफ्नो योजना सुनाए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काका कट्टर समर्थक आरपी अब स्ट्यान्डिङ क्रिकेट टिमलाई पनि पारसकै जस्तै योगदान दिन चाहन्छन्।
'पारस खड्काबाट धेरै नै प्रोत्साहित छु। उहाँले आन्तरिक द्वन्द्वमा पनि नेपाली क्रिकेटलाई अघि बढाउनु भयो,' उनले भने।
उनी पारसले लगाउने ७७ नम्बरकै जर्सी लगाएर मैदानमा उत्रिन्छन्। ७७ नम्बरको जर्सी लगाउनुको मुख्य कारण पारस खड्काप्रतिको सम्मान भएको उनी बताउँछन्।
'मलाई पनि कप्तानकै भूमिका आएकाले मनमा पोजेटिभ भाइब्स् आओस् भनेर उहाँको सम्मानसहित ७७ नम्बरको जर्सी रोजेको हुँ,' उनले भने।
पारसलाई यो विषय थाहा छ कि छैन, उनी जानकार छैनन्। उनी पारसकै झैं आफूमाथि स्ट्यान्डिङ क्रिकेट टिमको जिम्मेवारी थपिएको ठान्छन्।
'७७ नम्बरको जर्सी लगाएपछि त्यसमा जिम्मेवारी पनि जोडियोजस्तो लाग्छ। उहाँले जसरी टिम नेतृत्व गर्नु भयो, सफलता दिलाउनु भयो, नेपाल डिभिजन ५ देखि वान डे स्टाटससम्म पुग्यो। त्यसैले ७७ नम्बर को जर्सी मैले लगाउनु जिम्मेवारी पनि छ। यो जर्सी नम्बर लगाउन पाउँदा गर्व लाग्छ,' उनले भने।
नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान खड्काले संन्यास घोषणा गरेपछि उनले लगाएको जर्सी नम्बर '७७' पनि 'रिटायर्ड' गरेको थियो। अब जर्सी नम्बर ७७ राष्ट्रिय क्रिकेट टिममा देख्न नपाइने भए पनि आरपीले स्ट्यान्टिङ क्रिकेट टिमको कप्तानको रूपमा ७७ नम्बरको लगाएर पारसलाई अर्को सम्मान दिएका छन्।
अब आरपीलाई स्ट्यान्डिङ क्रिकेट टिममा देशभरबाट खेलाडी भित्र्याउने इच्छा छ। किनभने अपांगता भएका व्यक्ति खेलकुदमा लाग्दा सकारात्मक सन्देश जाने उनको विश्वास छ।
'हामी खेलकुदमा लाग्दा सामाजिक, मानसिक र स्वास्थ्यका हिसाबले राम्रो हुन्छ। अपांगता भएका व्यक्तिलाई योग्यताअनुसार जिम्मेवारी दियो भने सही रूपमा निर्वाह गर्न सक्छन् भन्ने पनि सन्देश जान्छ,' उनले भने।
सबै तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी