बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा भोलिदेखि पाँच दिन ‘बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिता’को आयोजना हुने भएको छ।
काठमाडौंको मूलपानी तल्लो मैदानमा आयोजना हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ।
सहभागी टोलीमा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो ११ रहेका छन्।
टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा टी-२० फर्म्याटमा खेलहरू संचालन हुनेछन्।
प्रतियोगितामा सहभागी प्रदेशको खेलाडी छनोटका लागि ट्यालेन्ट हन्ट कार्यक्रममार्फत टिम बनाएर सहभागी टिमहरु काठमाडौं आउने क्रममा रहेका छन्।
साथै प्रतियोगिता व्यवस्थापनअन्तर्गतका सम्पूर्ण कार्यसमेत पूर भैसकेको आयोजकको भनाइ छ।
खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोपणबारे चेतना फैलाउन बलियो नेपाल न्युट्रिशन इनिसियटिभले विशेष गरी ग्रासरुट क्रिकेटको प्रवर्द्धनका लागि २०७८ देखि वलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ।
संस्थाले अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको आयोजना गरेको थियो।
ग्रासरुट क्रिकेटको विकास र विस्तारलाई मुख्य उद्धेश्य बनाएर आयोजना गरिदै आएको बलियो नेपाल कपको यस संस्करणलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति प्रदान गरेको छ।
प्रतियोगितामा सहभागी रहने टिमहरुको सम्पूर्ण आर्थिक खर्चसमेत आयोजकको तर्फबाट व्यवस्थापन भएको आयोजकको भनाइ छ।