आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ।
घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको हो।
टेक्सासको मोसा रंगशालामा जारी खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
ओमानविरुद्ध नेपाली टिममा एक परिवर्तन गरिएको छ। सुसन भारीको स्थानमा सागर ढकालले स्थान बनाएका छन्।
नेपाली टिम
देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, आदिल अन्सारी, रोहित पौडेल, सागर ढकाल, सन्दीप लामिछाने (कप्तान), सोमपाल कामी
यसअघि आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको थियो। खराब ब्याटिङका कारण नेपाललाई ओमानले १३ रनले पराजित गरेको थियो।
दोस्रो खेलमा नेपाल र अमेरिकाबीच बराबरी भएको थियो। जसका कारण नेपालले एक अंक जोडेको थियो।
अंक तालिकामा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २३ खेलबाट २१ अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ।