पाँच खेलको टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई ४८ रनले पराजित गरेको छ।
यसअघिका दुई खेलमा दक्षिण अफ्रिका विजयी भएको सिरिजको तेस्रो खेलमा भारतले जित निकालेसँगै सिरिज २-१ को अवस्थामा छ।
मंगलबार घरेलु टिम भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ५ बल खेल्न बाँकी छदा १३१ रनमै अलआउट भयो।
उसका लागि क्लासेनले सबैभन्दा बढी २९ रन जोडे।
बलिङमा भारतका हर्षल पटेलले ४ विकेट लिए भने युजभेन्द्र चहलले ३ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा १७९ रन जोड्यो।
भारतका लागि ओपनरद्वय ऋतुराज गायकवाड र इशान किसनले अर्धशतक प्रहार गरे। गायकवाडले ३५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए। इशानले पनि ३५ बलमा ५ चौका र २ छक्का हिर्काउँदै ५४ रन जोडे।
दुई बीच पहिलो विकेटका लागि १० ओभरमा ९७ रनको साझेदारी भएको थियो।
हार्दिक पाण्ड्याले २१ बलमा ४ चौका हिर्काउँदै बनाएको नटआउट ३१ रन पनि महत्वपूर्ण सावित भयो।
बलिङमा दक्षिण अफ्रिकाका ड्वायन प्रेटोरियसले २ विकेट लिए।