आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ। घरेलु टिम अमेरिका, ओमान र नेपालबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा पहिलो जित हात पारेको हो।
बुधबार बिहान टेक्सासको मोसा रंगशालामा सकिएको खेलमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३३.१ ओभरमै पूरा गर्यो।
नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। कुशलले ५६ रन र आसिफले ६२ रन जोडे। कुशलले ७५ बल खेलेर ५ चौका र आसिफले ८६ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।
देव खनाल १० रनमा आउट हुँदा उपकप्तान रोहित पौडेलले नटआउट २६ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ७ रन जोडे। रोहितले २१ बलमा १ चौका र १ छक्का तथा दीपेन्द्रले ५ बलमा १ चौका हिर्काए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ बलमा १६३ रनमै अलआउट भयो। उसका लागि कप्तान जीशन मक्सुदले सर्वाधिक ५२ रन र सन्दीप गौडले ४७ रन जोडे।
ओमानलाई सस्तैमा रोक्ने क्रममा नेपालका करण केसीले ५ विकेट लिए। उनले ९ ओभरमा ३३ रन खर्चिए। एकदिवसीय खेलमा करणले लगातार दोस्रो खेलमा पाँच विकेट लिन सफल भएका हुन्। अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि उनले पाँच विकेट लिएका थिए।
कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।
जितसँगै २ अंक जोडेको नेपाल लिग-२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ। नामिबियालाई पछि पारेको नेपालको १५ खेलबाट १५ अंक भएको छ।
छैठौं स्थानमा झरेको नामिबियाको १४ खेलबाट १४ अंक छ। यता लिग-२ का सबै खेल खेलिसक्दा शीर्ष स्थानको ओमानको ३६ खेलबाट ४४ अंक छ।
दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक, तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक र चौथो स्थानको अमेरिकाको २३ खेलबाट २१ अंक छ। पुछारको पपुवा न्युगिनीको २० खेलबाट २ अंक छ।