आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, अमेरिका र ओमानबीचको यो सिरिजमा नेपाल र अमेरिकाबीच अन्तिम एकदिवसीय खेल हुन लागेको हो।
अमेरिकामा भइरहेको सिरिजको खेल टेक्सासको मोसा रंगशालामा राति सवा नौ बजे सुरू हुनेछ। सुरुवाती तीन खेलमा नेपालले एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ।
नेपाल पहिलो खेलमा ओमानसँग पराजित भएको थियो। नेपाल र अमेरिकाबीचको दोस्रो खेलमा स्कोर बराबरी भएको थियो।
बुधबार विहान सकिएको तेस्रो खेलमा भने नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको थियो।
ओमानविरूद्ध जित हात पारेसँगै २ अंक जोडेको नेपाल लिग-२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको थियो। नामिबियालाई पछि पारेको नेपालको १५ खेलबाट १५ अंक छ।
छैठौं स्थानमा झरेको नामिबियाको १४ खेलबाट १४ अंक छ। यता लिग-२ का सबै खेल खेलिसक्दा शीर्ष स्थानको ओमानको ३६ खेलबाट ४४ अंक छ।
दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक, तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक र चौथो स्थानको अमेरिकाको २३ खेलबाट २१ अंक छ। पुछारको पपुवा न्युगिनीको २० खेलबाट २ अंक छ।