आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।
बिहीबार बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भयो।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए।
आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए।
दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४, करण केसीले १ र कप्तान सन्दीप लामिछाने शून्य रन आउट भए।
नेपालका लागि छैठौं विकेटका लागि आरिफ र सोमपालले १ सय ६ रनको कीर्तिमानी साझेदारी गर्दै खेलमा पूनरागमन गराएका थिए । तर अन्तिम ७ रन जोड्दा पाँच विकेट गुमाएपछि नेपाल पराजित हुन पुगेको हो।
अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले समान ३-३ विकेट लिए।
त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिका गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ५४ रनको योगदान दिए ।
आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए ।
निसर्ग पटेल १८ रन अविजित रहँदा क्यामरून स्टेभेनसन १६ रनमा अविजित रहे।
नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए।
सिरिज अन्तर्गत नै यस अघि नेपाल र अमेरिकाबीचको खेल 'टाइ' भएको थियो ।
यो नतिजासँगै अमेरिका २४ खेलबाट २३ अंक जोड्दै चौथो स्थानमा कायमै छ। पराजित नेपाल १६ खेलबाट १५ अंक जोड्दै पाँचौ स्थानमा छ।
शीर्ष स्थानको ओमानले सबै ३६ खेलबाट २१ जित र १३ मा हारका साथ ४४ अंक जोडेको छ।
स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैठौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ।