आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय त्रिकोणात्मक सिरिजमा नेपालका तीव्र गतिका बलर करण केसी ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका छन्।
अमेरिकामा बिहीबार विहान सकिएको सिरिजमा करणलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो। करणले सिरिजका चार खेलमा १३ विकेट लिए।
उनले बिहीबार विहान सकिएको खेलमा अमेरिकाविरूद्ध ३ विकेट लिएका थिए। खेलमा नेपाल भने ३९ रनले पराजित भयो।
करणले ओमानविरूद्धका दुवै खेलमा ५-५ विकेट लिएका थिए।
एकै एकदिवसीय सिरिजमा दुई पटक पाँच विकेट लिने उनी नेपालका पहिलो खेलाडी हुन्।
करण नेपालका लागि एकदिवसीय खेलको एकै इनिङ्ग्समा पाँच वा बढी विकेट लिने तेस्रो खेलाडी हुन्। यसअघि सोमपाल कामीले नेपालका लागि एकदिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिने इतिहास रचेका थिए। सोमपालले सन् २०१९ मा युएईविरूद्ध ५५ विकेट लिँदा ३३ रन खर्चिएका थिए।
कप्तान सन्दीप लामिछानले भने एकै इनिङ्ग्ग्समा दुई पटक ६ विकेट लिएका छन्। सन् २०२१ मा ओमानमा भएको खेलमा पिएनजीविरूद्ध सन्दीपले ६ विकेट लिँदा ११ रन मात्र दिएका थिए। यो नेपालका लागि एकदिवसीय खेलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो। त्यसअघि उनले २०२० मा अमेरिकाविरूद्ध घरेलु मैदानमा ६ विकेट लिँदा १६ रन खर्चिएका थिए।
सिरिजमा दुई पटक पाँच विकेट लिएका करण नेपालका लागि टी-२० र एकदिवसीय दुवै फर्म्याटमा एक इनिङ्ग्ग्समा पाँच विकेट लिने पहिलो खेलाडी बने।
यसअघि करणले पिएनजीविरूद्ध घरेलु मैदानमा भएको टी-२० खेलमा ५ विकेट लिँदा २१ रन खर्चिएका थिए। टी-२० मा नेपाली बलरको यो उत्कृष्ट प्रदर्शन हो।