आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजकोअन्तिम खेलमा नेपाल घरेलु टिम अमेरिकासँग ३९ रनले पराजित भयो।
घरेलु टोली अमेरिकाले जितका लागि प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७.४ ओभरमा २०६ रनमा समेटियो।
नेपालका लागि आरिफ शेखले अर्धशतकीय प्रहार गरे। उनले ६३ रन बनाए भने सोमपाल कामी ४७ र देव खनालले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन्।
खेलमा पराजित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै कप्तान सन्दीप लामिछानेले सबै खेल जितनजिक पुगेर हारेको बताए।
उनले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताए।
कप्तान लामिछानेले ब्याटिङमा साना-गल्तिहरू भइरहेको बताउँदै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए। उनले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको बताए।
खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरु अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने प्रतिक्रिया दिए। आगामी खेलमा थप चुनौती रहेको भन्दै उनले खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताए।
सन्दीपको भनाइ
जितको एकदम नजिक पुगेर हारिरहेका छौँ। हामीले सबै गेम जित्नुपर्ने हो। तर लास्टमा गएर नियन्त्रण गुमाइरहेको थियो। ब्याटिङमा साना-साना समस्या आइरहेका छन्। मैले पहिला पनि भनेको थिएँ, यी सबै गेम हामीले जित्नुपर्ने थियो। तर अन्तिममा आएर चुकेका छौँ। हामीले यसलाई सुधार गर्नुपर्ने कुरा देखाएको छ। मेराबाहेक अर्को स्पिनरबाट पनि विकेट आयोभने टिमलाई सहयोग हुन्छ। हामी सबै सिक्दैछौँ। एक दुई खेलाडी बाहेक कोहीसँग पनि धेरै अनुभव छैन। म पनि नयाँ नै छु, धेरै कुराहरु सिक्नुपर्ने नै छ। मैले सोचेजस्तो राम्रो गर्न सकेको छैन। आउँदो गेममा हाम्रो लागि चुनौती हुनेछ। मैले सोचेजस्तो पर्फमेन्स यो ४ वटा गेममा आएको थिएन। त्यसले पनि टिमलाई राम्रो हुन सकेन। आउँदो गेममा म आफ्नोतर्फबाट जतिसक्दो सुधार गर्नेछु।
अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ।
७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ।
नेपाल भन्दा तल छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।
नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार बेहोको छ भने १ खेल बराबरी खेलेको छ।
यो सिरिजअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो। त्यस्तै तेस्रो खेलमा ओमानलाई ७ विकेटले पराजित गरेको नेपालले चौथो खेलमा अमेरिकासँग ३९ रनको हार बेहोर्यो।
अब नेपालले लिग-२ मा यहिँ महिना स्कटल्यान्ड भ्रमण गर्नेछ।