मलेसियामा आजदेखि सुरू एसिसी महिला टी २० च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ।
नेपालले पहिलो खेलमा भुटानमाथि ५० रनको जित निकालेको हो।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमै अलआउट भयो।
भुटानका लागि छिरिङ जाङ्मोले सबैभन्दा बढी १६ रन जोडिन्। उनीबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा नेपालकी संगीता राईले ३ विकेट लिइन्। सीता मगर र कविता कुँवरले २-२ विकेट हात पारे। इन्दू बर्मा र अस्मिना कर्माचार्यले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ९४ रन जोड्यो। नेपालका लागि काजल श्रेष्ठले २६ रन, कप्तान रूबिना क्षेत्रीले २१ रन र इन्दू बर्माले २० रनको योगदान गरे।
बलिङमा भुटानकी सोनाम पाल्दोनले ४ विकेट लिइन्।
च्याम्पियनसिपमा १० टोली रहेकोमा दुई समूह विभाजन गरिएको छ।
नेपाल समूह बीमा रहेको छ। यो समूहमा भुटानसहित कुवेत, हङकङ र बहराइन छन्।
यस्तै समूह ए मा घरेलु टोली मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन्।
दुई समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिम महिला टी २० एसिया कपमा छनोट हुनेछन्।
नेपालले दोस्रो खेलमा भोलि (शनिबार) कुवेतसँग खेल्ने छ भने तेस्रो खेलमा सोमबार बहराइन र चौथो खेल मंगलबार हङकङसँग खेल्नेछ।