बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेका छन्।
समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश १ समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। शुक्रवार मुलपानी मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो लुम्बिनी प्रदेशका बिरुद्ध रोमाञ्चक जित दर्ता गर्यो। ओसिलो मैदानका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिंग गर्दै बलियो लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०९ रन जोडेको थियो। उसका सन्तोष साउदले सर्वाधिक ३८ तथा रौनक श्रीवास्तवले १४ रनको योगदान गरे। बलियो प्रदेश १ का रुशल रिमालले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट आफ्नो नाम गरे।
जवाफमा ११० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो प्रदेश १ ले एक बल बाँकी रहंदा ५ विकेट गुमाउंदै लक्ष्य पुरा गर्यो। बलियो प्रदेश १ लाई अन्तिम दुई बलमा ३ रन आवश्यक रहंदा बाई स्वरुप ४ रन प्राप्त गरेपछि बलियो प्रदेश १ को जित सम्भव बनेको थियो। बलियो प्रदेश १ को जितमा आलोक मण्डलले ३७ रन तथा रबिन मण्डलले २४ रनको योगदान गरे। बलियो लुम्बिनी प्रदेशका आयुष ओलीले ३ विकेट हात पारेपनि टोलीलाई जित दिलाउन भने सकेनन्।
खेलको प्लेयर अफ दि म्याच बलियो प्रदेश १ का आलोक मण्डल घोषित भए।
यस्तै दिनको दोस्रो खेलमा बलियो मधेश प्रदेशले बलियो ११ लाई ४६ रनले पराजित गर्दै समूह बि को बिजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको छ।
टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बलियो मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन जोडेको थियो। उसका राहुल कुमार महतोले सर्वाधिक ६२ रनको योगदान गरे। यस्तै बिशाल यादव व्यक्तिगत २० रन बनाएका थिए।
बलियो ११ को बलिङ्गमा जेनिश पुन मगर र प्रतिक पण्डितले समान २-२ विकेट हात पारे।
जवाफमा १३२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो ११ ले १८.५ ओभरमा सबै विकेट गुमाउन अघि ८५ रन मात्र जोड्न सक्यो। उसका ओपनर ईजाज उल हक ले अविजित ४० तथा कप्तान स्मिथ बुढाले १५ रन जोड्न बाहेक अन्य ब्याट्स्मेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलियो ११ लाई सस्तैमा समेट्न बलियो मधेश प्रदेशका साइमन रोए र रोहन शाहले समान २-२ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच राहुल कुमार महतो घोषित भए।
शनिवार हुने पहिलो सेमिफाइनलको खेलमा बलियो प्रदेश १ र बलियो बागमती प्रदेश तथा दोस्रो सेमिफाइनल खेलमा बलियो मधेश प्रदेश र बलियो गण्डकी प्रदेश भिड्ने छन्।