भारतले चौथो टी २० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि ८२ रनको जित निकालेको छ। यो जितसँगै पाँच खेलको सिरिज २-२ को बराबरी अवस्थामा पुगेको छ ।
जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.५ ओभरमा ८७ रनमा समेटियो।
यो दक्षिण अफ्रिकाले टी २० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम योगफल हो । यसअघि दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफल टि२० आईमा २०२० मा अष्ट्रेलियाविरुद्ध ८९ रन थियो ।
दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले सर्वाधिक २० रनको योगदान दिए। ओपनर क्विन्टन डि ककले १४ रन बनाउँदा मार्को यानसनले १२ रन बनाए। ८ अफ्रिकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
हेनरिक क्लासेन ८, डेविड मिलर ९, केशव महराज शून्य, एनरिच नोर्किया एक र लुन्गी एनगिडी ४ रनमा आउट भए ।
अफ्रिकालाई सस्तैमा समेट्न आवेश खानले सर्वाधिक ४ विकेट लिए। युजभेन्द्र चहलले २ तथा हर्षल पटेल र अक्षर पटेलले १-१ विकेट लिए।
त्यसअघि राजकोटमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो। भारतका दीनेश कार्तिकले अर्धसतक पुरा गरे। २७ बलमा ९ चौका र २ छक्कासहित ५५ रन बनाएका कार्तिकको पहिलो टि२० आई अर्धशतक हो।
अलराउन्डर हार्दिक पान्ड्याले ४६ रन जोडे। कप्तान तथा विकेटकिपर ऋषभ पन्त पुन खराब प्रदर्शन गर्दै १७ रनमा आउट भए। ओपनर ऋतुराज गायकवाड ५, ईशान किशन २६, श्रेयस ऐर ४ रनमा आउट भए।
दक्षिण अफ्रिका लुन्गी एनगिडीले २ विकेट लिए। मार्को यानसन, एनरिच नोर्किया, ड्वेन प्रिटोरियसले र केशव महाराजले १-१ विकेट लिए।
सुरूवात दुई खेलमा ७ विकेट र ४ विकेटले विजयी भएको दक्षिण अफ्रिकालाई भारतले तेस्रो खेलमा ४८ रनले हराएको थियो।
पाँचौं तथा निर्णायक खेल आइतबार बेंगलोरमा हुनेछ।