मलेसियामा भर्खरै सम्पन्न आइसिसी यू-१९ टि-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला टोलीले आफ्नो दोस्रो खेलमा युएईविरूद्ध ८ रनमै अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ८.१ ओभर क्रिजमै टिक्दै मात्र ८ रनमा अलआउट भयो।
त्यसबेला नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत सर्वाधिक रन भयो।
युएईविरूद्धको निकै खराब प्रदर्शनपछि यू-१९ नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमाथि सामाजिक सञ्जालमा थुप्रै ट्रोल भए। कैयौंले लज्जास्पद हार भएको भन्दै धित मर्नेगरी गालीसमेत गरे।
युएईको १० बल सामना गरेर तीन रन बनाएकी धनगढीकी स्नेहा महरालाई त्यो खेलपछि अर्काे पटक विश्वकप खेल्न थप सिकाइ भएको छ।
स्नेहाले युएईसँग हारेपछि व्यक्तिगत र टिमले सुधार गर्नुपर्ने कुरा नोट गरेर डायरीमा टिपेर राखेकी छन्।
‘त्यहाँबाट धेरै नयाँ कुरा सिकेर आएँ। अहिले सोही अनुसारको नयाँ अभ्यास गरिहेकी छु, डायरीमा टिपोट गरेका एक-एक कुरा सुधार गर्ने हो,’ उनले सेतोपाटीसँग भनिन्।
उनका अनुसार विपक्षी टिमको बल सामना गर्न नसकेकै कारण नेपाली महिला यु-१९ टिमले यस पटक विश्वकप खेल्नबाट वञ्चित भएको हो।
बल खेल्नुभन्दा अगाडि नै सिधा स्टम्पमा लाग्दा नेपाली ब्याटरको युएईविरूद्ध खराब प्रर्दशन रह्यो।
‘स्पिड बललाई जज गर्न सकिएन। हामीले आफ्नो बेष्ट दिएका थियौं, चोटपटक लागेर पनि साथीहरूले खेलेका थिए, फस्ट बलमै आउट हुन थाले, आठ रनमै आउट हुँदा हामीमाथि धेरै गाली र ट्रोल पनि भयो,’ उनले भनिन्।
त्यो दिन म्याच सकिनेबित्तिकै युएईसँगै पुनः अभ्यास गेममा भने नेपालले जितेको उनले दाबी गरिन्।
म्याच सकेपछि युएईसँगै अभ्यास खेल खेल्ने कुरा भयो। त्यस बेला युएईले नेपाललाई १५ ओभरको गेममा ६ विकेट गुमाएर ५० रनको लक्ष्य दिएको थियो। यस पटक नेपालले १३ ओभरमै सहजै लक्ष्य भेटाएर युएईलाई पराजित गरेको स्नेहाले बताइन्।
‘हार जित पार्ट अफ गेम हो, त्यो दिन हाम्रो लक भएन, त्यहाँको आइसिसिका सरले नेपालको टिमचाहि नराम्रो होइन भनेका थिए,’ उनले भनिन्।
नेपालले खेलेका पाँच खेलमध्ये कतार, भुटान, मलेसियासँग जित हात पारेको थियो। युएई र थाइल्यान्डसँग पराजित भएको थियो।
स्नेहा टिमकी उपकप्तान हुन्। उनलाई टिमको यो हारले थप उर्जा मिलेको छ।
‘हार भयो भन्दैमा हामीले निरास हुनु पर्दैन, नेपालले खेल्ने आगामी प्रतियोगितामा जित हात पार्न कडा मेहनतमा डटेर म लागेकी छु। पूरा टिमले पनि यसरी लाग्नुपर्छ,’ उनले भनिन्।
अर्काे पटक नेपालले विश्वकप खेल्नेमा उनी विश्वस्त छिन्।
‘मैले त्यहाँ हाम्रो नेपालको जस्तो जोस, जाँगर र इख अरूका खेलाडीमा पाइनँ। मलाई लाग्छ अब हाम्रो टिमले अर्काे पटक हार्दैन किनकि, त्यहाँ अरूभन्दा हाम्रो टिम राम्रो थियो। केही लय बिग्रिएर मात्रै यो पटक असफल भइयो। हामीमा इख छ। कमी कमजोरीलाई सुधार गरेर अगाडि बढ्नेछौं,’ उनले भनिन्।
टिमलाई अझ बलियो बनाउन राज्यका तर्फबाट पनि थप सहयोग हुन सके सुधार हुने स्नेहाको भनाइ छ। अभ्यास भए पनि महिला प्रतियोगिता निकै कम मात्रामा हुँदा कमीकमजोरीलाई पत्ता लगाउन समस्या हुने गरेको उनले बताइन्।
‘अन्य देशको जस्तो अन्तर्राष्टिय स्तरको पिचमा अभ्यास गर्न पाए, जहाँ खेल्न जान्छु त्यहाँको जस्तै यहाँ मैदानको सुविधा भए अझै हामीलाई सहज हुन्थ्यो,’ उनले भनिन्।
पहिला क्रिकेटलाई पुरूषहरूको मात्रै खेलका रूपमा चिनिने गरिन्थ्यो। अहिले समय परिवर्तनसँगै महिला पनि यो खेलमा डटेर आफ्नो योगदान दिन सफल भइरहेका छन्।
कोही वर्षाैंदेखि योगदान दिइरहेका छन् कतिपय नयाँ खेलाडी यो क्षेत्रमा प्रवेश गरिरहेका छन्। नयाँ-नयाँ टिम स्थापित गर्न महिलाहरू लागिरहेका छन्।
नेपाली महिला क्रिक्रेटमा १५ वर्षीय स्नेहा महरा बलियो उदाउँदो खेलाडीका रूपमा परिचित हुँदै छिन्।
उनी अलराउन्डर हुन्। उनको बलिङ प्रर्दशन राम्रो छ। स्नेहा धनगढीको कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत छिन्। गेम र परीक्षाको समय एकै हुँदा उनले जेठमा भएको १२ को परीक्षासमेत दिन भ्याइनन्। अर्काे पटक परीक्षा दिने तयारीमा उनी छिन्। स्नेहाको मनमा अहिले परीक्षा छुटेको चिन्ता भन्दा नेपाली महिला यू-१९ टोलीले प्रर्दशन राम्रो बनाउन आफ्नो व्यक्तिगत खेलमा थप सुधार ल्याउनका व्यस्त छिन्।
धनगढीको प्रचण्ड गर्मीमा उनी बिहान र बेलुका कडा अभ्यासमा खटिन्छिन् ।
‘मैले देशको लागि चौका छक्का प्रहार गर्नु छ, विकेट लिनु छ। मेरो चाहना सपना यही छ, यसको लागि म अहिले कडा मेहनतमा छु,’ उनले सुनाइन् ।
उनका बुवाले फिटनेसको लागि उनलाई गेम सिक्न भनेका थिए। बुवाको सहयोगले स्नेहालाई क्रिक्रेटमा अगाडि बढ्न साहस मिलेको हो।
स्नेहाले क्रिकेट खेल्न थालेको चार वर्ष भयो। छोटो समयमा प्रशिक्षक र अन्यबाट राम्रो मूल्यांकन पाएको उनी बताउँछिन्।मनोबल बढाउन कोचिङले उनलाई क्रिकेटमा जम्न आत्मबल बढेको बताउँछिन्।
उनले अहिलेसम्म राष्ट्रिय स्तरको पाँच प्रतियोगिता खेलेकी छिन्। यस्तै भारतको गुडगाँव, मध्यप्रदेशमा गएर पनि खेलेकीको बताउँछिन्। गत फागुनमा धनगढीको फाप्लामा राष्टियस्तरको यू-१९ महिला क्रिक्रेट प्रतियोगितामा उनले सुदूरपश्चिम टिममा कप्तानी गरेकी थिइन्।
‘लिडरसिप गर्ने सक्ने क्षमता, अनुशासन र राम्रो प्रर्दशन देखेर मलाई क्याप्टेन बनाएको हुनसक्छ, राष्ट्रिय टोलीमा पनि उपकप्तान भएँ। म साथीहरूलाई प्रेसर भएको बेला पनि कुल माइन्ड भएर निर्णय लिनुपर्छ भन्ने कुरा सेयर गर्छु,’ उनले भनिन्।
स्नेहाका अनुसार सुदूरपश्चिमका राष्ट्रिय टिममा परेका खेलाडीहरू प्रायः धनगढीमा अभ्यास गर्ने गर्छन्।
धनगढीमा क्रिक्रेट मैदान फाप्ला हो। कतिपय खेलाडीलाई फाप्ला आउन-जान समस्या हुने गरेको उनले सुनाइन्।
‘म चाहन्छु जति पनि अहिले क्रिक्रेटमा लागेका छन्, उनीहरू सबैले देशको लागि खेल्न पाउन पर्छ। आर्थिक अभावका कारण अभ्यास ठाउँसम्म पुग्न नपाएर बिचमै खेल छोड्न नपरोस्। अभ्यास गर्ने वातावरणमा सम्बन्धित निकायले पनि सहयोग गर्नुपर्छ, हाम्रो पो अहिलेसम्म घरबाट राम्रो सपोर्ट छ, घरबाट सपोर्ट नभएको भए क्रिक्रेटर बन्ने सपना देखिदैँन थियो,’ उनले भनिन्।
स्नेहा र उनको परिवारको सपना अब उनले यू-१९ पछि राष्ट्रिय टिमका लागि खेलोस् भन्ने छ।
कैलाली जिल्ला क्रिक्रेट संघका प्रशिक्षक ज्ञानेन्द्र दडिवाना क्षेत्रीले महिलाका प्रतियोगिता कम मात्रामा हुँदा उनीहरूलाई समस्या हुने गरेको बताए।
उनका अनुसार महिला क्रिक्रेट खेलको नेपालमा राम्रो सम्भावना छ।
‘सुरूका वर्षमा महिला टिमले ठूलाठूला प्रतियोगितामा क्वालिफाइड भएको पनि अवस्था थियो। त्यसपछि राज्यबाट सम्बन्धित निकायबाट खासै चासो छैन। महिला क्रिक्रेटलाई पनि माया गर्नुपर्छ। बढीभन्दा बढी घरेलु प्रतियोगिता हुनुपर्छ,’ उनले भने।
अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगितामा नेपाल छानिन नसक्नु अन्य देशको जसरी तयारी पनि नहुनु हो भन्ने उनी ठान्छन्।
‘अरूका वर्षाैँदेखि तयारी हुन्छ, हाम्रोमा एक महिना पनि पूरा हुँदैन,’ उनले भने।