बलियो नेपाल कप अन्डर १५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो।
मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बलियो बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउंदै ९५ रन बनाएको थियो। उसका आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन ।
बलिंग तर्फ बलियो मधेसका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे।
जवाफमा ९६ रनको लक्ष्य बलियो मधेशले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। बलियो मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रंजन यादवले ३४ रनको इन्निंग खेले। बलियो बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बलियो मधेश प्रदेशका साईमन रोए घोषित भए भने बलियो ११ का जेनिश मगर, कमल शाही र बलियो बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए।
बिजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र सभासद अमन लाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का , ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी ड़ा. अतुल उपाध्यायले प्रदान गरेका थिए।