अष्ट्रेलियामाथि श्रीलंकाले लगातार दोस्रो जित निकाल्दै ५ खेलको एक दिवसीय सिरिजमा २-१ ले अग्रता बनाएको छ।
ओपनर पाथुम निस्सानकाको शतकमा श्रीलंकाले तेस्रो ओडिआईमा अष्ट्रेलियालाई ६ विकेटले हरायो।
अष्ट्रेलियाले दिएको २ सय ९२ रनको लक्ष्य घरेलु टोली श्रीलंकाले ४८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको जितमा ओपनर पाथुम निस्सानकाले १ सय ३७ रनको अविजित शतकीय इनिङ खेले। ओडिआई करिअरमा पहिलो शतक बनाउने क्रममा उनले १ सय ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे।
यस्तै कुशल मेन्डिस ८७ रनमा रिटायर्ट हर्ट भए। दोस्रो विकेटका लागि कुशल र पाथुमले १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए।
निरोशन डिक्कवेला र धनन्जय डि सिल्भाले २५–२५ रन बनाउँदा चरिथ असलंका १३ रनमा अविजित रहे।
अष्ट्रेलियाका झेय रिचर्ड्सनले सर्वाधिक दुई विकेट लिए। जोश हेजलवुड र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए।
त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो।
उसका लागि ट्रविस हेडले सर्वाधिक ७० रनको अविजित इनिङ खेले ।
कप्तान आरोन फिन्चले ६२ रन बनाउँदा एलेक्स केरी ४९ रनमा आउट भए।
ग्लेन म्याक्सवेलले ३३, मार्नस लाबुसेन २९, मिचेल मार्श १०, ओपनर डेविड वार्नर ९ रनमा आउट भए । क्यामसन ग्रिन १५ रनमा अविजित रहे।
श्रीलंकाका जेफ्री वान्डरसेले सर्वाधिक ३ विकेट लिए। यसअघि दोस्रो खेलमा श्रीलंकाले २६ रनले हराएको थियो। पहिलो ओडिआईमा अष्ट्रेलिया दुई विकेटले विजयी भएको थियो। चौथो खेल मंगलबार र पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ।