एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल समूहको अन्तिम खेलमा पराजित भएको छ।
समूह ‘बी’ मा रहेको नेपाललाई मंगलबार हङकङले ७ विकेटले पराजित गर्यो।
यसअघि नेपालले समूहमा लगातार तीन खेलमा जित निकालेर सेमिफाइनलमा स्थान बनाएको थियो। नेपालले भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो।
हङकङले पनि समूहमा तीन खेलमा जित निकालेको छ। अब उनले अन्तिम खेलमा कुवेतसँग खेल्न बाँकी छ।
मलेसियामा मंगलबार नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले ३ विकेटको क्षतिमा १५.५ ओभरमै पार गर्यो।
हङकङका लागि मारिको हिलले ४५ रन जोडिन्। संगिता राईको बलमा ममता चौधरीबाट समातिनुअघि उनले ३२ बलमा ८ चौका हिर्काइन्।
त्यसअघि ओपनर बेला बो ९ रन बनाएर खेलिरहदा सीता राना मगरको एलबिडब्लूको धरापमा परेकी थिइन्।
यस्तै नतासा मिल्सले नटआउट २८ रनको योगदान गरिन्।
बलिङमा नेपालकी संगिता राईले २ विकेट हात पारिन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १०९ रन जोड्यो।
नेपालका लागि ओपनर बिन्दू रावलले २३ रन जोडिन्। कप्तान रुबिना क्षेत्रीले नटआउट ३२ रन जोडिन्। उनले ३६ बलमा ४ चौका छ।
यस्तै अप्सरी बेगमले नटआउट २२ रन बटुलिन्। उनले १६ बलमा २ चौका हिर्काइन्।
नेपालका अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा हङकङकी चान बेटीले २ विकेट लिइन्।