नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायके अरू टिमसँग आबद्ध नभएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
पछिल्लो समय पुबुदु अमेरिकाको ह्युस्टन हरिकेन्स टिममा आबद्ध भएको चर्चा चलेको थियो। अमेरिकाको माइनर लिग क्रिकेट २०२२ का लागि प्रमुख प्रशिक्षकको रुपमा पुबुदुलाई आबद्ध गरेको भन्दै हरिकेन्सले सामाजिक सञ्जालमा समेत तस्बिर राखेको छ।
यद्यपी क्यानले भने पुबुदुले नेपालबाहेक अरू टिममा आबद्ध नभएको स्पष्ट पारेको छ।
क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लका पुबुदु अन्य टिममा आबद्ध नभएको सेतोपाटीलाई बताए।
‘हरिकेन्स र पुबुदुबीच कुरा भएको रहेछ। पुबुदुले आफूले सल्लाह मात्र दिन सक्ने बताउनु भएको हो,’ मल्लले भने, ‘हामीले यस विषयमा पुबुदुसँग कुरा गर्दा उहाँले अरु टिमसँग आबद्ध नभएको बताउनु भएको छ। पुबुदुको नाम जोडेर सामाजिक सञ्जालमा आएका सूचनामा सत्यता छैन।’
अमेरिकाको यो सिजनको माइनर क्रिकेट लिग शनिबारदेखि सुरू हुँदैछ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिका भ्रमणका दौरान हरिकेन्ससँग अभ्यास खेल खेलेको थियो। सो खेलमा नेपाल २९ रनले पराजित गरेको थियो। खेलमा कप्तानको भूमीका रहेका रोहितकुमार पौडेलले शतक प्रहार गरेका थिए।
पुबुदु गत मंसिरमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। दोस्रो पटक नेपालको प्रशिक्षक बनेका पुबुदु र क्यानबीचको सम्झौता अझै सकिएको छैन।
नेपालले यहि महिना दुई वटा सिरिज खेल्दैछ। क्यानडासँग एकदिवसीय र टी-२० सिरिज खेल्न नेपाली टिम आगामी साता क्यानडा जाँदैछ।
त्यसपछि नेपाल, नामिबिया र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ। यो सिरिज स्कटल्यान्डमा असार अन्तिम साता हुने तय छ।