एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा नेपालले युएईविरूद्ध उत्कृष्ट बलिङ गर्यो।
मलेसियामा जारी प्रतियोगिताको समूह चरणमा अपराजित युएईलाई नेपालले ८१ रनमै समेटेको थियो। नेपालका लागि अश्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गर्ने क्रममा पाँच विकेट लिइन्।
समूह चरणमा युएईले सिंगापुरलाई २९ रनमै अलआउट गरेको थियो। यस्तै मलेसियाविरूद्ध पहिले ब्याटिङ गर्दा १३४ रन जोडेको थियो। कतारविरूद्धको अन्तिम खेलमा युएईले २१४ रन जोड्दा इशा ओजाले ११५ रन जोडेकी थिइन्।
समूह चरणमा उत्कृष्ट ब्याटिङ गरेका युएईका ब्याटर सेमिफाइनलको खेलमा भने नेपाली बलरविरूद्ध सस्तैमा आउट भए। नेपालविरूद्ध युएईका कुनै ब्याटरले पनि २० रन कटाउन सकेनन्।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल ब्याटिङमा राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने अभियानमा थियो। किनभने नेपाल फाइनलमा स्थान बनाउँदै यो वर्षको अन्त्यमा हुने एसिया कपमा स्थान बनाउन चाहन्थ्यो।
एसियाका टेस्ट टिमविरूद्ध खेल्ने नेपालको लक्ष्यमा भने वर्षा बाधक बन्यो। ८२ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ थाल्नुअघि नै ठूलो वर्षा भएपछि खेल अवरूद्ध भयो। लगातार वर्षा भएपछि एसियन क्रिकेट काउन्सिलले खेल रद्द गर्यो।
वर्षाका कारण खेल रद्द भएको फाइदा युएईले उठायो। समूह चरणमा अपराजित भएको युएईलाई एसिसीले फाइनलमा स्थान दियो। समूह चरणमा नेपालले भने सुरूवाती तीन खेलमा जित हात पार्दा अन्तिम खेलमा भने हङकङसँग हार बेहोरेको थियो।
जारी प्रतियोगिताबाट फाइनल पुग्ने दुई टिम एसिया कपमा छनोट हुने प्रावधान छ। एसिया कपका लागि यसअघि नै बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र थाइल्यान्ड छनोट भइसकेका छन्।
नेपालले वर्षाका कारण खेल गुमाउँदा अरू प्रतियोगिता खेल्ने अवसर गुमाएको यो पहिलो पटक होइन।
सन् २०२० को यु-१९ विश्वकप खेल्ने नेपालको लक्ष्यमा बर्षाले असर गरेको थियो।
सन् २०१९ को अप्रिलमा मलेसियामा भएको छनोटअन्तर्गत युएईविरुद्धको खेलमा वर्षा बाधक बन्यो। वर्षा बाधक बन्दा नेपाल डिएल मेथडमा १ रनले पराजित हुन बाध्य भयो। उक्त हार नेपालका लागि विश्वकप खेल्नमा बाधक बन्यो। अरु सबै खेलमा जित हात पारे पनि नेपाल समूहमा युएईभन्दा पछि पर्दै दोस्रो भयो।
युएईसँगको खेलमा वर्षा बाधक बन्दा नेपालले २०२२ को यू-१९ विश्वकप खेल्ने अवसर पनि गुमायो।
नेपालले गत जनावरी १४ देखि फेब्रुअरी ५ सम्म वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो।
सन् २०२२ को विश्वकप छनोट कोरोनाका कारण हुन सकेन।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोनाका कारण एसिया छनोट रद्द गर्दै युएईलाई अवसर गर्ने निर्णय गर्यो।
आइसिसीले पछिल्लो पाँच विश्वकपको छनोटको आधारलाई मान्दै एसियाबाट युएईलाई छनोट गरेको थियो। पछिल्ला पाँच युवा विश्वकप मध्ये युएईले २०१४ र २०२० को विश्वकप खेलेको थियो। युएईले २०१४ मा आयोजकको हैसियतमा विश्वकप खेल्दा २०२० मा नेपाललाई पछि पार्दै विश्वकप खेलेको थियो।
नेपालले पछिल्ला पाँच विश्वकप मध्ये २०१२ र २०१६ को विश्वकप खेलेको थियो।
सन् २०१९ को छनोटमा वर्षाका कारण निर्णायक खेलमा पराजित हुँदा नेपालले २०२० र २०२२ को यु-१९ विश्वकप खेल्ने अवसर गुमायो।