पछिल्लो समय विवादित बन्दै गएको नेपाल टी-२० लिगको विषयमा प्रतिनिधिसभाको बैठकमा कुरा उठेको छ।
आइतबार संसदको विशेष समयमा बोल्दै नेकपा एमालेका संसाद गोकुल बास्कोटाले टी-२० लिगको सम्झौता खारेज गर्न माग गरे।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको व्यपारिक र रणनीतिक साझेदारको रूपमा भारतको सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको थियो।
‘बिना प्रतिस्पर्धा सेभेन थ्री स्पोर्ट्सलाई दिइएको छ। यो खेदजनक र आपत्तिजनक छ। कम्पनीलाई भारतको कानुन लाग्नेछ प्रष्ट रूपमा सम्झौताको २१ नम्बर बुँदामा लेखिएको छ। यस्तो कसरी हुन पुग्यो। यो खारेज गर्नुपर्छ। विदेशी कम्पनीलाई कानुनी अधिकारी दिने कुरा अत्यन्त घातक छ।’
उनले सम्झौता गर्दा व्यापक आर्थिक अनियमितता भएको पनि आरोप लगाए।
‘क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसरी चतुर्याइ गरेर देशको क्रिकेट क्षेत्रलाई खतम गर्नु भएको छ। यो सधारण विषय होइन। यसमा सरकारको ध्यानकर्षण गर्छौं। सम्झौता च्यातिनु पर्छ। गर्ने भए पनि पुर्नविचार गर्नुपर्छ,’ बाँस्कोटाले भने।
नेपाल टी-२० लिग आगामी असोजमा गर्ने क्यानको भनाइ छ। क्यानले नेपाल टी-२० लिगलाई देशको एक मात्र आधिकारी लिग बनाउने भन्दै अन्य फ्रेञ्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताइसकेको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको भनाइ छ।
यसअघि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए। तीनै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अनुमति लिएर सञ्चालन भएका थिए।
तर एभरेस्ट प्रिमियर लिग भने आफूलाई मान्यता दिने पर्ने माग राख्दै आएको छ। क्यानबाट प्रतियोगिता सञ्चालन गर्न अनुमति नपाएपछि एभरेस्ट प्रिमियर लिगले सर्वोच्चमा गर्दा गराएको मुद्दा विचाराधिन छ।