नेपाली राष्ट्रिय महिला टिम मलेसियामा सम्पन्न एसिसी महिला टी-२० च्याम्पियनसिपमा अभागी साबित भयो।
यो वर्षको अन्त्यमा हुने महिला एसिया कपमा स्थान बनाउनका लागि नेपाल एक कदम टाढा थियो। तर वर्षा बाधक बन्यो।
सेमिफाइनलको खेलमा नेपालले युएईलाई ८१ रनमै समेटेको थियो। नेपालका लागि अश्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गर्ने क्रममा पाँच विकेट लिइन्।
समूह चरणमा उत्कृष्ट ब्याटिङ गरेका युएईका ब्याटर सेमिफाइनलको खेलमा भने नेपाली बलरविरूद्ध सस्तैमा आउट भए। नेपालविरूद्ध युएईका कुनै ब्याटरले पनि २० रन कटाउन सकेनन्।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल ब्याटिङमा राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने अभियानमा थियो। किनभने नेपाल फाइनलमा स्थान बनाउँदै यो वर्षको अन्त्यमा हुने एसिया कपमा स्थान बनाउन चाहन्थ्यो।
एसियाका टेस्ट टिमविरूद्ध खेल्ने नेपालको लक्ष्यमा भने वर्षा बाधक बन्यो। ८२ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ थाल्नुअघि नै ठूलो वर्षा भएपछि खेल अवरूद्ध भयो। लगातार वर्षा भएपछि एसियन क्रिकेट काउन्सिलले खेल रद्द गर्यो।
वर्षाका कारण खेल रद्द भएको फाइदा युएईले उठायो। समूह चरणमा अपराजित भएको युएईलाई एसिसीले फाइनलमा स्थान दियो। समूह चरणमा नेपालले भने सुरूवाती तीन खेलमा जित हात पार्दा अन्तिम खेलमा भने हङकङसँग हार बेहोरेको थियो।
प्रतियोगिताको फाइनल पुगेका मलेसिया र युएई एसिया कपमा छनोट हुने भए। एसिया कपका लागि यसअघि नै बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र थाइल्यान्ड छनोट भएका थिए।
एसिया कपमा स्थान बनाउन नसक्दा दु:खी भए पनि नेपाली खेलाडी आफ्नो प्रदर्शनमा सन्तुष्ट छन्।
सोमबार स्वदेश फर्केपछि नेपाली टिमकी कप्तान रूबिना क्षेत्रीले नेपालले अझै राम्रो गर्न सक्ने भन्दै खेलाडीलाई धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन्।
उपाधि जित्ने लक्ष्यसहित मलेसिया गएको टिमले अपेक्षा अनुसारको प्रदर्शन गरेको थियो।
कप्तान रूबिनाले सेमिफाइनलमा 'जितेको' खेल नखेली आउनुपर्दा दुःख लागेको बताइन्।
उनले भनिन्, ‘सबै खेलाडीले खेल मैदानमा आ-आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो। योजनाअनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो। हङकङसँगको हारपछि समिकरण बदलिए पनि युएईविरूद्धको प्रदर्शन हाम्रो लागि राम्रो हो। बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भए पनि नखेली आउनुपर्दा दुःख लागेको छ।’
टिममा अनुभवी खेलाडी भएको, मिडल अर्डर राम्रो भएको र केही नयाँ प्रतिभावान् खेलाडी भएकाले नेपाली महिला टिमको भविष्य राम्रो रहेको उनको भनाइ छ।
उनले निरन्तरको अभ्यास र धेरैभन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट अझ अगाडि बढ्ने कप्तान क्षेत्रीले बताइन्।
उनले भनिन्, ‘हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौं। यो सल्लाह पनि भएको छ। भरसक सबै खेलाडी काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौं। आउँदै गरेको प्रतियोगितालाई मध्यनजर गर्दै योजनावद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं। यसका साथै हामीलाई धेरैभन्दा धेरै प्रतियोगिताको खाँचो छ। युगाण्डासँगको श्रृंखलाको अनुभवले हाम्रा धेरै कमिकमजोरी सुधार गर्नसक्यौं। अब धेरै श्रृंखला खेलेर प्रतियोगितामा सहभागी हुन पायौं भने अवश्य राम्रो गर्न सक्छौं।’
युएईविरूद्ध पाँच विकेट लिएकी अश्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि क्यानले प्राथमिकता दिनुपर्ने बताइन्।
उनले भनिन्, ‘राम्रो खेल्दा खेल्दै पनि हामी बाहिरिनु पर्दा दुःख लागेको छ। मेरो व्यक्तिगत करियरमा ५ विकेट निकै महत्वपूर्ण रह्यो। हौसला मिलेको छ। खेल गुमाए पनि हाम्रो टोलीले लय पाएको छ। यही लयलाई निरन्तरता दिनसक्यौं भने महिला टोलीले भविष्यमा अझै राम्रो गर्नसक्छ।’
मूख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै यसको जिम्मा आफूले लिने बताए। एसिसी र आइसिसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा 'रिजर्भ डे'को आवश्यक पर्ने भए पनि नराखेकोमा उनले गुनासो गरे।
समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको उनको भनाइ छ। उनले भने, ‘उपाधि लक्ष्यका साथ हामी मलेसिया गएका थियौं। दुर्भाग्य सेमिफाइनल खेल वर्षाका कारण रद्द भयो। मुखमै आएको खेल छुट्यो धेरै दुःख लागेको छ। लक्ष्यमा पुग्न हामी चुक्यौं। प्रशिक्षकको नाताले जिम्मा लिन्छु। व्यक्तिगत हिसाबमा मलाई पनि निकै नरामाइलो अनुभव भइरहेको छ। तर समग्रमा नेपाली महिला टोली राम्रो खेल्यो। ब्याटिङ, बलिङमा टोलीको प्रदर्शन राम्रो रह्यो। विशेष गरी युएईसँगको खेलमा अश्मिनाको बलिङ निकै उत्कृष्ट रह्यो।’
प्रशिक्षक टमाटाले पनि कप्तान रूबिनाले भने जस्तै धेरैभन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टिमले दुई वर्षमा छलाङ मार्ने बताए।
उनले भने, ‘यो भ्रमणका धेरै सकारात्मक पक्ष छन्। अहिले टोलीले लिएको लयलाई निरन्तरता दिनुपर्छ। एक्सपोजर धेरै महत्वपूर्ण पाटो हो। सँगै निरन्तर अभ्यासको निकै खाँचो छ। यो प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनलाई सबैले तारिफ गरेको छ। आगामी दिनमा महिला क्रिकेटमा धेरै प्रतियोगिता छन्। विश्वकै बलियो राष्ट्र भारत, बंगलादेश हाम्रो छिमेकी छन्। उनीहरूसँग धेरैभन्दा धेरै प्रतियोगिता खेलाउन सक्छौं। थाइल्याण्डसँग सम्बन्ध बिस्तार गरेर महिला खेलाडीका लागि अभ्यासको अवसर सिर्जना गर्न सकिन्छ। अझै राम्रो खेलाडी बेन्च बाहिर पनि छन्। उनीहरूलाई अवसर दिए राम्रो सम्भावना छ। राम्रो एक्सपोजर दिन सक्यौं भने दुई वर्षमा नेपाली क्रिकेट धेरै माथि उठ्न सक्छ।’
समूहका चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हार बेहोरेको थियो। नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो। सेमिफाइनलमा युएईसँगको खेल वर्षाका कारण रद्द हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपाल निराश बनेको थियो।
नेपालले वर्षाका कारण खेल गुमाउँदा अरू प्रतियोगिता खेल्ने अवसर गुमाएको यो पहिलो पटक होइन।
सन् २०२० को यु-१९ विश्वकप खेल्ने नेपालको लक्ष्यमा वर्षाले असर गरेको थियो।
सन् २०१९ को अप्रिलमा मलेसियामा भएको छनोटअन्तर्गत युएईविरूद्धको खेलमा वर्षा बाधक बन्यो। वर्षा बाधक बन्दा नेपाल डिएल मेथडमा १ रनले पराजित हुन बाध्य भयो। उक्त हार नेपालका लागि विश्वकप खेल्नमा बाधक बन्यो। अरू सबै खेलमा जित हात पारे पनि नेपाल समूहमा युएईभन्दा पछि पर्दै दोस्रो भयो।
युएईसँगको खेलमा वर्षा बाधक बन्दा नेपालले २०२२ को यू-१९ विश्वकप खेल्ने अवसर पनि गुमायो।
नेपालले गत जनावरी १४ देखि फेब्रूअरी ५ सम्म वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो।
सन् २०२२ को विश्वकप छनोट कोरोनाका कारण हुन सकेन।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोनाका कारण एसिया छनोट रद्द गर्दै युएईलाई अवसर गर्ने निर्णय गर्यो।
आइसिसीले पछिल्लो पाँच विश्वकपको छनोटको आधारलाई मान्दै एसियाबाट युएईलाई छनोट गरेको थियो। पछिल्ला पाँच युवा विश्वकपमध्ये युएईले २०१४ र २०२० को विश्वकप खेलेको थियो। युएईले २०१४ मा आयोजकको हैसियतमा विश्वकप खेल्दा २०२० मा नेपाललाई पछि पार्दै विश्वकप खेलेको थियो।
नेपालले पछिल्ला पाँच विश्वकप मध्ये २०१२ र २०१६ को विश्वकप खेलेको थियो।
सन् २०१९ को छनोटमा वर्षाका कारण निर्णायक खेलमा पराजित हुँदा नेपालले २०२० र २०२२ को यु-१९ विश्वकप खेल्ने अवसर गुमायो।