नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार विहान क्यानडातर्फ प्रस्थान गर्दैछ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरूद्धको सिरिजअघि नेपालले क्यानडा भ्रमण गर्न लागेको हो।
क्यानडा भ्रमणका दौरानले नेपालले क्यानडाविरूद्ध दुई वटा एकदिवसीय खेल खेल्नेछ।
पहिलो खेल असार २० र दोस्रो खेल असार २१ मा हुनेछ। त्यसअघि नेपालले असार १७ मा वर्मअप खेलको रूपमा ओन्टारियोसँग प्रतिस्पर्धा गर्नेछ।
स्कटल्यान्ड भ्रमणमा जानुअघि क्यानडामा एकदिवसीय खेल खेल्दा बलियो तयारी हुने नेपालले विश्वास गरेको छ। त्यसपछि नेपाली टिम स्कटल्यान्ड प्रस्थान गर्नेछ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपालबीचको त्रिकोणात्मक सिरिज सिरिज आगामी असार २७ देखि सुरू हुनेछ। सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरूद्ध खेल्नेछ।
अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ।
७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ।
नेपाल भन्दा तल छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।
नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार बेहोको छ भने १ खेल बराबरी खेलेको छ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी।