गत शुक्रबार महिला राष्ट्रिय टिमकी बलर अश्मिना कर्माचार्यले आफूलाई सम्हाल्न सकिनन्। प्रशिक्षक जगत टमाटाका अघि आएर अश्मिताले आँसु झारेको तस्बिरले जो-कोही खेलप्रेमीलाई भावुक बनाउँछ।
करिअरकै उत्कृष्ट बलिङ गरेकी खुसीभन्दा उनी धेरै दु:खी भइन्।
मलेसियाको किनरारा ओभलमा एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत युएईविरूद्धको सेमिफाइनलमा अश्मिनाले करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा पाँच विकेट लिएकी थिइन्। ३.५ ओभरमा १० रन खर्चिएकी अश्मिनाको उत्कृष्ट बलिङसँगै नेपालले बलियो युएईलाई ८१ रनमै अलआउट गरेको थियो।
अश्मिनाले उत्कृष्ट बलिङ गरेको खेल भारी वर्षाले रोकियो। किनरारा ओभल जलमग्न भयो। वर्षाले खेल अवरूद्ध गरेपछि आयोजक एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपालले ब्याटिङ गर्नुअघि खेल रद्द गर्यो।
खेल रद्द गर्नुको अर्थ युएई फाइनलमा पुग्नु र नेपाल सेमिफाइनलबाट घर फर्कनु थियो। एसिसीले समूह चरणको अपराजित युएईलाई फाइनलमा खेलाउने निर्णय गर्दा समूह चरणमा हङकङसँग पराजित नेपाल अभागी सावित भयो।
प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिँदाभन्दा ठूलो चोट नेपाललाई एसिया कपमा छनोट हुन नसक्दा भयो। प्रतियोगिताको फाइनल पुग्ने शीर्ष दुई टिम एसिया कपमा छनोट हुने नियमअनुसार नेपालको एसिया कप खेल्न लक्ष्य समाप्त भएको थियो।
खेल वर्षका कारण रद्द भएपछि अश्मिना निकै भावुक बनेकी थिइन्।
खेल रद्द भएपछिको क्षण सम्झिँदै अश्मिनाले सेतोपाटीसँग भनिन्, ‘वर्षाका कारण खेल रद्द भएर हामी सेमिफाइनलबाट आउट भयौं भन्ने सूचना भएपछि एकदमै भावुक भएकी थिएँ। मलाई अम्पायरले बोलाएर म्याच बल दिने बेलामा सबैजना अगाडि हुनुहुन्थ्यो। जगत गुरू पनि हुनुहुन्थ्यो। सबैले ताली बजाउँदा आफूलाई सम्हाल्न सकिनँ। हामीले जुन हिसाबले प्रतियोगिता खेल्न गएका थियौं, त्यो पूरा नहुँदा आँखाबाट आँसु झर्न थाले।’
उनले राम्रो खेल्दाखेल्दै पनि नेपाल प्रतियोगिताबाट बाहिरिँदा निकै दु:ख लागेको बताइन्।
‘हामीले मिहिनेत गरेर सेमिफाइनलको यात्रा तय गरेका थियौं। तर वर्षाका कारण हाम्रो यात्रा सक्कियो भन्ने लागेपछि आँसु थाम्न सकिनँ। हामीले उत्कृष्ट खेल्दाखेल्दै पनि प्रकृतिको कारणले खेल रद्द भयो हामी आउट भयौं,’ उनले भनिन्, ‘प्रकृतिको कुरा हामीले नियन्त्रण गर्ने पनि होइन। हामीले गर्न सक्ने जति गरेका थियौं। कहिलेकाहीँ भगवानले पनि साथ दिँदा रहेनछन्। हाम्रो भागमा अझ ठूलो केही लेखेको होला भनेर चित्त बुझाएँ।’
खेलका दौरान नेपालका प्रशिक्षक जगत टमाटा पनि भावुक बनेका थिए।
‘पाँच ओभरको खेल भए पनि हाम्रो लागि १८-१९ रनको लक्ष्य हुनेवाला थियो। तर खेल नै रद्द भयो। हामीले खेलेको भए जस्तो नतिजा आए पनि सहज रूपमा लिन्थ्यौं। तर खेल रद्द हुँदा हामी सबै भावुक भयौं,’ उनले भने।
नेपाललाई वर्षासँगै भाग्यले पनि साथ नदिएको उनको भनाइ छ।
उनले भने, ‘हामीले गरेको मिहिनेत खेर गयो। त्यसैले हाम्रो टिमको माहौल एकदमै भावुक बनेको थियो। म आफैं पनि भावुक भएर अरूलाई पनि सम्झाउने स्थिति थिएन। एकछिनपछि मैले सबैलाई सम्झाएर अर्को पटक प्रयास गर्नुपर्छ। यो पनि हाम्रो खेलको अंग हो भनेर सम्झाएँ।’
खेलको नतिजा नआएपछि अश्मिनालाई सम्मानस्वरूप ‘म्याच बल’ दिने निर्णय भएको थियो।
‘ड्रेसिङ रूममा गएर अश्मिनालाई म्याच बल लिन जान अनुरोध गरें। तर उनी एकदमै भावुक भएकी थिइन्। बल लिन जान एकदमै अप्ठेरो महसुस गरिरहेकी थिइन्,’ टमाटा त्यो क्षण सम्झन्छन्।
त्यसपछि म्याच रेफ्री र अफिसियल ड्रेसिङ रूममै आएका थिए।
‘म्याच बल लिन जाने क्रममा अश्मिना मेरो अगाडि आएर अँगालो हालेर रून थालिन्। उनी राम्रो खेल्दाखेल्दै पनि टिमले जितेन भनेर एकदमै दु:खी थिइन्,’ टमाटाले भने।
नेपालले वर्षाका कारण खेल गुमाउँदा अरू प्रतियोगिता खेल्ने अवसर गुमाएको यो पहिलो पटक होइन।
सन् २०२० को यु-१९ विश्वकप खेल्ने नेपालको लक्ष्यमा वर्षाले असर गरेको थियो।
सन् २०१९ को अप्रिलमा मलेसियाको यही रंगशालामा भएको छनोटअन्तर्गत युएईविरूद्धको खेलमा वर्षा बाधक बन्यो। वर्षा बाधक बन्दा नेपाल डिएल मेथडमा १ रनले पराजित हुन बाध्य भयो। उक्त हार नेपालका लागि विश्वकप खेल्नमा बाधक बन्यो। अरू सबै खेलमा जित हात पारे पनि नेपाल समूहमा युएईभन्दा पछि पर्दै दोस्रो भयो।
युएईसँगको खेलमा वर्षा बाधक बन्दा नेपालले २०२२ को यू-१९ विश्वकप खेल्ने अवसर पनि गुमायो।
नेपालले गत जनवरी १४ देखि फेब्रुअरी ५ सम्म वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकप खेल्ने अवसर गुमाएको थियो।
सन् २०२२ को विश्वकप छनोट कोरोनाका कारण हुन सकेन।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले कोरोनाका कारण एसिया छनोट रद्द गर्दै युएईलाई अवसर गर्ने निर्णय गर्यो।
आइसिसीले पछिल्लो पाँच विश्वकपको छनोटको आधारलाई मान्दै एसियाबाट युएईलाई छनोट गरेको थियो। पछिल्ला पाँच युवा विश्वकपमध्ये युएईले २०१४ र २०२० को विश्वकप खेलेको थियो। युएईले २०१४ मा आयोजकको हैसियतमा विश्वकप खेल्दा २०२० मा नेपाललाई पछि पार्दै विश्वकप खेलेको थियो।
नेपालले पछिल्ला पाँच विश्वकपमध्ये २०१२ र २०१६ को विश्वकप खेलेको थियो।
सन् २०१९ को छनोटमा वर्षाका कारण निर्णायक खेलमा पराजित हुँदा नेपालले २०२० र २०२२ को यु-१९ विश्वकप खेल्ने अवसर गुमायो।