नियमित कप्तान रोहित शर्माले इंग्ल्यान्डविरूद्धको पाँचौ टेस्ट गुमाउने भएसँगै भारतले नयाँ कप्तान नियुक्त गरेको छ।
भारतले भोलिदेखि हुने टेस्टका लागि तीव्र गतिका बलर जसप्रित बुमराहलाई कप्तान नियुक्त गरेको हो।
बुमराहले पहिलो पटक राष्ट्रिय टिमको कप्तानी गर्ने अवसर पाएका हुन्।
सन् १९८७ पछि तीव्र गतिका बलर भारतीय क्रिकेट टिमको कप्तान भएको पहिलो पटक हो।
सन् १९८७ मा कपिल देवले कप्तानी गरेपछि बुमराहले भारतको टेस्टको कप्तानी गर्ने पहिलो तीव्र गतिका बलरको इतिहास बनाउनेछन्।
भारतले रिशव पन्तलाई उपकप्तान बनाएको छ।
पछिल्लो साता रोहित शर्मालाई कोभिड- १९ भएको थियो। वार्म अफ खेलको पहिलो इनिङ्ग्स खेलपछि उनी आइसोलेसनमा बसेका थिए।
भारतले रोहितको स्थानमा मयंक अग्रवाललाई ल्याएको छ। अग्रवाल यसअघि नै इंग्ल्यान्ड पुगिसकेका छन् भने भारतीय टिमको अभ्यास सत्रमा सहभागी भइसकेको छन्।