आइसिसी विश्वकप लिग-२ अन्तर्गको सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा दोस्रो जित हात पारेको छ।
नेपालले आइतबार राति सकिएको टी-२० खेलमा स्थानीय ओन्टारियोलाई ५५ रनले हरायो। यसअघि नेपालले शुक्रबार पनि ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २०९ रन जोड्यो।
नेपालका लागि रोहितकुमकार पौडेलले ३१ बलमा ५ चौका र ५ छक्का हिर्काउँदै नटआउट ७१ रन जोडे।
दीपेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडे।
ओपनिङमा आएका पवन सराफले ३७ रन जोड्दा कुशल भुर्तेल २ रनमै आउट भए। देव खनालले २० रन जोडे भने आदिल अन्सारीले नटआउट १० रन बटुले।
२१० रनको लक्ष्य पछ्याएको ओन्टारियो ३ बल खेल्न बाँकी छदा १५४ रनमा अलआउट भयो।
उसका लागि बरुण शेहदेवले ५० रन जोडे भने नरेश बुढाऐरले ४१ रनको योगदान गरे। बुढाऐर नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल क्यानडामा बस्दै आएका छन्।
बलिङमा नेपालका सोमपाल कामीले २ विकेट लिए। करण केसी, किशोर महतो र आदिल अन्सारीले एक एक विकेट लिए।
नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्नेछ।
त्यसपछि नेपाली टिम स्कटल्यान्ड जानेछ। त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ।