टी-२० अन्तर्राष्ट्रिय खेलमा भुटानले ऐतिहासिक जित हात पारेको छ।
मलेसियामा भइरहेको माल्दिभ्स, थाइल्यान्ड, भुटान र घरेलु टिम मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजका दौरान भुटानले माल्दिभ्सलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो।
सोमबार भएको खेलमा भुटानले माल्दिभ्सलाई ६ रनले पराजित गर्यो।
टी-२० अन्तर्राष्ट्रियमा भुटानको पहिलो जित हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०१९ जनावरी १ देखि लागू हुने गरी आफ्ना सबै सदस्य राष्ट्रबीचको खेललाई टी-२० अन्तर्राष्ट्रियको मान्यता दिएको थियो।
त्यसयता भुटानले चार खेलमा लगातार पराजय भोगेको थियो। पाँचौ खेलमा भने जित निकाल्दै भुटानले इतिहास बनाएको हो।
सोमबार पहिले ब्याटिङ गरेको भुटानले ९ विकेटको क्षतिमा ११० रन जोडेको थियो।
भुटानका लागि गोकुल घले र नाम्गे थिन्लेले १७-१७ रन जोडेका थिए।
१११ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन मात्र जोड्न सक्यो।
उसका लागि मोहमद रिजवानले सबैभन्दा बढी १९ रन जोडे। बलिङमा भुटानका थिन्ले र जिङ्मे सिंगेले ३-३ विकेट लिए।