नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमयर लिग (सिपिएल) जमैका तलावाजबाट खेल्ने भएका छन्।
सन्दीपलाई वेस्ट इन्डिजको टी-२० फ्रेञ्चाइज लिग टिम जमैकाले विदेशी खेलाडीको कोटामा बुधबार आबद्ध गरेको हो।
जमैकाले सन्दीपसँगै पाकिस्तानका इमाद वासिम र मोहमद अमिर, दक्षिण अफ्रिकाका प्रेटोरियस र अस्ट्रेलियाका क्रिस ग्रिनलाई टिममा भित्र्याएको छ।
२०२२ को सिपिएल आगामी अगस्ट ३१ देखि सुरू हुँदैछ।
सन्दीप दोस्रो पटक जमैकामा आबद्ध भएका हुन्। यसअघि उनले २०२० को सिजनमा पनि जमैकाबाट खेलेका थिए। त्यतिबेला उनले १२ विकेट लिएका थिए। सो सिजनमा सन्दीपले ९० हजार अमेरिकी डलर पारिश्रमिक लिएका थिए।
गत सिजन भने सन्दीपले राष्ट्रिय टिमको खेलका कारण सिपिएल गुमाएका थिए। नेपाल ओमान भ्रमणका गएसँगै सन्दीपले ट्रिन्बागो नाइट राइडर्समा आबद्ध भएर पनि खेलेका थिएनन्।
सिजन २०२२ को सिपिएलमा आबद्ध भएको अघिल्लो दिन मंगलबार सन्दीपले श्रीलंकाको टी-२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने पक्का भएको थियो।
मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले टिममा आबद्ध गरेको थियो। अन्तर्राष्ट्रिय डाइमन्ड ए श्रेणीमा रहेका सन्दीपलाई ४० हजार अमेरिकी डलरमा जाइन्ट्सले आफ्नो टिममा आबद्ध गरेको थियो।
२०२२ को एलिपएल आगामी जुलाइ ३१ देखि सुरू हुनेछ। प्रतियोगितामा पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
आइसिसीको स्थायी सदस्यहरू भारत, पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले श्रीलंकाको लिग पहिलो पटक खेल्न लागेका हुन्।