भारतीय क्रिकेट टिमका पूर्व महेन्द्रसिंह धोनी ४१ वर्ष पूरा भएका छन्।
आज जन्मदिन मनाइरहेका धोनीले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।
तर उनी उनले फ्रेञ्चाइज क्रिकेट भने खेलिरहेका छन्। उमेरले चार दशक काटेका धोनी अझै पनि चर्चित छन्।
आइपिएल टिम चेन्नई सुपरकिंग्सको कप्तान रहेका धोनीलाई भारतीय क्रिकेटप्रेमीले अहिले औधी माया गर्छन्।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले तीन वर्षअघि १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट बिदा लिने निर्णय गरेका थिए।
सन् २०१४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले सन् २०१९ मा एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट पनि नखेल्ने निर्णय गरेका थिए।
व्यावसायिक क्रिकेट भने खेल्ने धोनीले सिजनको आइपिएलमा चेन्नई सुपरकिंग्सको नेतृत्व गरिरहेका छन्।
भारतमा बढी मन पराइएका क्रिकेटर धोनीले सन् २०१९ को विश्वकपपछि भारतीय टिमबाट खेलेका थिएनन्।
त्यसअघि उनले भारतीय टिमलाई दिएको योगदानका कारण उनी सधैं चर्चाको शिखरमा रहे। करिअरका दौरान उनले दर्जनौ रेकर्ड बनाए।
आइसिसीका तीन प्रतियोगिता जित्ने एक्लो कप्तान
धोनी आइसिसीको तीन प्रतियोगिता जित्ने एक्लो कप्तान हुन्। धोनीको नेतृत्वमा भारतले सन् २००७ को टी-२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जित्यो।
कप्तानको रुपमा बढी अन्तर्राष्ट्रिय खेल
धोनीले भारतका लागि ३३२ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरे। जसमा २०० एकदिवसीय, ६० टेस्ट र ७२ टी-२० समावेश छन्। अस्ट्रेलायाका रिकी पोन्टीङ धोनी भन्दा ८ खेल कम ३२४ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेर दोस्रो स्थानमा छन्। धोनी तीनै फर्म्याटको क्रिकेटमा ५० बढी खेलमा कप्तानी गर्ने एक्लो कप्तान हुन्।
बढी फाइनल जित्ने कप्तान
धोनी एकदिवसीय प्रतियोगिताको बढी फाइनल जित्ने कप्तान हुन्। उनले भारतलाई २ भन्दा बढी टिम सहभागी ६ वटा एकदिवसीय प्रतियोगिता फाइनल पुर्याए। यस्तै उनी कप्तानको रुपमा बढी एकदिवसीय खेल जित्ने दोस्रो कप्तान हुन्। उनले कप्तानको रुपमा ११० खेल जिते।
एकदिवसीय खेलमा बढी नटआउट
धोनी एकदिवसीय खेलमा बढी नटआउट हुने खेलाडी हुन्। उनी ८४ एकदिवसीय खेलमा नटआउट रहे।
अन्तर्राष्ट्रिय क्रिकेटमा बढी स्टम्पिङ
धोनी अन्तर्राष्ट्रिय खेलमा बढी स्टम्पिङ गर्ने विकेटकिपर हुन्। उनले ३५० खेलमा १२३ स्टम्पिङ गरे। यस्तै उनी सय स्टम्पिङ पूरा गर्ने पहिलो विकेटकिपर हुन्।
यस्तो रह्यो धोनीको १६ वर्षको करिअर:
२००४ को डिसेम्बरमा धोनीले बंगलादेशविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सो खेलमा उनी शून्य रनमा रनआउटको सिकार भएका थिए।
२००५ मा धोनीले उत्कृष्ट प्रदर्शन गर्दै भारतीय टिममा आफ्नो प्रभाव जमाए। उनले पाकिस्तानविरुद्ध १४५ रन तथा श्रीलंकाविरुद्ध नटआउट १८३ रन बनाएपछि चर्चाको शिखरमा पुगे।
२००७ मा धोनी भारतको टी-२० विश्वकपका लागि कप्तान चुनिए। उनको नेतृत्वमा भारतले पाकिस्तानलाई हराएर पहिलो संस्करणको टी-२० विश्वकप जित्यो।
२००८ मा धोनीको कप्तानीमा भारतले अस्ट्रेलियामा पहिलो पटक एकदिवसीय सिरिज जित्यो। त्यसपछि उनी भारतीय टिमको पूर्णकालीन कप्तान भए।
२००९ मा धोनीको कप्तानीमा भारतले पहिलो पटक न्युजिल्यान्डमा पनि एकदवसीय सिरिज जित्यो। यस्तै उनले त्यहिँ वर्ष भारतलाई आइसिसी टेस्ट वरीयतामा शीर्ष स्थानमा पुर्याए।
२०१० मा धोनीको नेतृत्वमा भारतले एसिया कपको उपाधि जित्यो। यस्तै दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिज १-१ को बराबरी भएसँगै भारत सो वर्ष पनि टेस्टमा नम्बर एक टिम बन्यो।
२०११ मा धोनीको कप्तानीमा भारतले एकदिवसीय विश्वकपको उपाधि उचाल्यो। भारतमा भएको प्रतियोगिताको फाइनलमा भारतले श्रीलंकाले हराएर उपाधि जितेको थियो। फाइनल भिडन्तमा धोनीले नटआउट ९१ रन बनाएका थिए।
२०१३ मा भारतले आइसिसी च्याम्पियन्स ट्रफी जित्दा धोनी कप्तान थिए। उनले त्यहिँ वर्ष अस्ट्रेलियाविरुद्धको टेस्टमा दोहोरो शतक हिर्काएका थिए। उनी दोहोरो शतक हिर्काउने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका थिए। त्यससँगै उनी टेस्टमा भारतका सबैभन्दा सफल कप्तान बने। उनले सफल कप्तानीमा शौरभ गांगुलीलाई पछि पारे।
२०१४ को टी-२० विश्वकपमा भारतले फाइनलमा स्थान बनायो। तर फाइनलमा श्रीलंकासँग पराजित हुन पुग्यो। धोनीले यहि वर्ष अवे सिरिजमा लगातार पराजित भएपछि टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरे।
२०१५ को विश्वकपमा उनले भारतलाई सेमिफाइनलसम्मको यात्रा गराए। तर साविक विजेता भारत अस्ट्रेलियासँग पराजित भयो।
२०१६ मा धोनीको नेतृत्वमा भारतले अस्ट्रेलियालाई उसैको मैदानमा तीन खेलको टी-२० सिरिजमा ३-० ले हरायो। यस्तै उनले यो वर्षको टी-२० विश्वकपमा पनि भारतलाई सेमिफाइनलसम्म पुर्याए।
२०१७ मा धोनीले एकदिवसीय र टी-२० को कप्तानी छाडे। त्यसपछि विराट कोहली भारतको कप्तान बने।
२०१८ मा धोनीले एकदिवसीय खेलमा १० हजार रन पूरा गरे। उनी १० हजार रन पूरा गर्ने दोस्रो विकेटकिपर ब्याट्सम्यान बने। त्यसअघि श्रीलंकाका कुमार सांगाकाराले १० हजार रन पूरा गरेका थिए।
२०१९ को एकदिवसीय विश्वकपमा धोनीले अन्तिम एकदिवसीय खेल खेले। न्युजिल्यान्डविरुद्धको सेमिफाइनलको खेल धोनीको अन्तिम एकदिवसीय खेल बन्यो।