आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि स्कटल्यान्डमा सुरू हुँदैछ।
सिरिजको पहिलो खेलमा घरेलु टिम स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो पहिलो खेल सोमबार नामिबियासँग खेल्नेछ।
सिरिजका लागि नेपाली टिम क्यानडामा तयारी गरेर स्कटल्यान्ड पुगेको हो। क्यानडामा नेपालले स्थानीय टिम ओन्टारियोसँग २ वटा टी-२० खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।
एकदिवसीय सिरिजअघि टी-२० खेल, त्यो पनि स्थानीय टिमसँग खेलेपछि नेपाल क्रिकेट संघ (क्यान) व्यवस्थापनको आलोचना भइरहेको छ।
क्यानडासँग दुई खेलको एकदिवसीय खेल खेल्ने तय भए पनि पहिलो खेल वर्षाका कारण हुन सकेन। दोस्रो खेलमा नेपाल पराजित भयो।
एकदिवसीय मान्यताका लागि च्यालेन्ज लिग खेलिरहेको क्यानडाले पहिले ब्याटिङ गर्दै १८८ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको नेपाल १०५ रनमै अलआउट भयो। नेपालका लागि देव खनालले सबैभन्दा बढी २६ रन जोडेका थिए।
लिग-२ को सिरिजअघि लामो यात्रा तय गरेर क्यानडा जानु नेपालका लागि उपयुक्त नभएको भन्दै कतिपय समर्थकले असन्तुष्ट व्यक्त गरिरहेका छन्।
क्यानडा पुगेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सामाजिक सञ्जालमा गरेको एक पोस्टले केही आशंका जन्माएका थिए। उनले ‘आफूलाई समर्थन नभए पनि एक्लै युद्ध लाड्ने’ संकेत गर्दै लेखेका थिए। तर उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा कुन परिस्थितिप्रति लक्षित छ स्पष्ट भने छैन।
लिग-२ को सिरिजका लागि पहिलो पटक स्कटल्यान्ड पुगेको नेपालका लागि सिरिज सहज छैन। स्कटल्यान्डलाई घरेलु मैदानको फाइदा हुन्छ नै। एसोसिएट क्रिकेटमा स्कटल्यान्ड बलियो टिममा पर्छ। राम्रो एक्सपोजर र राम्रो घरेलु क्रिकेट वातावरण भएका कारण स्कटल्यान्डले एसोसिएट क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ।
नामिबिया पनि पछिल्लो समय लयमा छ। गत वर्षको टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको नामिबियाले यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा पनि प्रतिस्पर्धा गर्दैछ।
लिग-२ मा स्कटल्यान्ड सबैभन्दा कम खेलमा पराजित हुने टिम हो। अंक तालिकामा दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २० खेलमा १३ खेलमा जित निकलेको छ। दुई खेल वर्षाका कारण अवरूद्ध हुँदा स्कटल्यान्ड ५ खेलमा मात्र पराजित भएको छ।
नामिबिया खेलेका मध्ये कम खेलमा पराजित हुने दोस्रो टिम हो। उसले अहिलेसम्म १४ खेल खेल्दा ७ खेलमा जित र ७ खेलमा पराजित भएको छ।
नेपालले भने खेलेका १६ मध्ये ७ खेलमा जित निकाल्दा ८ खेलमा हार बेहोरेको छ। नेपालले ७ जित निकाल्दा १ खेल बराबरीमा सकिएको छ।
अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा रहेको छ।
७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।
२० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ।
नेपाल भन्दा तल छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।
नेपालका लागि स्कटल्यान्ड र नामिबियाविरूद्धको सिरिज अंक तालिकामा अघि बढ्ने अवसर पनि हुन सक्नेछ। आफ्ना चारै खेल जितेमा नेपालले चौथो स्थानको अमेरिकालाई भेट्न सक्छ। तर पराजित भएको अवस्थामा भने नेपाललाई नामिबियाले पछि पार्न सक्नेछ भने नेपाल अंक तालिकामा छैटौं स्थान पुग्ने खतरा हुन सक्छ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी।
नेपालको खेल
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड - असार २९
नेपाल भर्सेस नामिबिया - असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १
(नेपालका सबै खेल नेपाली समयअनुसार दिउँस सवा ३ बजे सुरू हुनेछ)