माइकल बेसवेलको उत्कृष्ट प्रदर्शनमा न्युजिल्यान्डले पहिलो एक दिवसीय खेलमा आयरल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ।
जितको लागि ३ सय १ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले अन्तिम बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो।
न्युजिल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा २० रन आवश्यक हुँदा ब्रेसवेलले क्रेग योंगलाई पहिलो र दोस्रो बलमा लगातार चौका प्रहार गरे। तेस्रो बलमा छक्का प्रहार गर्दै जितको सम्भावना बलियो बनाए। त्यसपछि चौथो बलमा चौका प्रहार गरेका उनले पाँचौ बलमा छक्का प्रहार गर्दै अविश्वसनीय जित दिलाए।
८२ बल खेलेका ब्रेसवेलले १० चौका र ७ छक्कासहित १ सय २७ रनको अविजित पारी खेल्दै रोमाञ्चक जित दिलाए। यसअघि ओपनर मार्टिन गुप्टिलले ५१ रन जोड्दा ग्लेन फिल्प्सि ३८, ईश सोधी २५ तथा कप्तान टम लाथम २३ रनमा आउट भए। १५६–६ को कमजोर अवस्थाबाट ब्रेसवेलले खेल जिताएका हुन्।
आयरल्यान्डका कर्टिस क्याम्फरले सर्वाधिक तीन विकेट लिए। मार्क आदिरले दुई विकेट लिए।
त्यसअघि द भेलेज डुब्लिनमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय रन बनायो। उसका लागि ह्यारी टेक्टरले सर्वाधिक १ सय १३ रन बनाए। उनले ११७ बल खेल्दै १४ चौका र ३ छक्का प्रहार गरे। यस्तै क्याम्फरले ४३ रन बनाउँदा एन्ड्री म्याकबर्नीले ३९, सिमी सिंहले ३० तथा लार्कान टकरले २६ रन बनाए। जर्ज डकरेलले १८ रन बनाउँदा ओपनर पउल स्टर्लिङले ५ रन बनाए।
न्युजिल्यान्डका लोकी फर्गुसन, ईश सोधी र ब्लेयर टिकनरले समान २-२ विकेट लिए। म्याट हेनरी र ग्लेन फिलिप्सले १-१ विकेट हात पारे।
यो जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल मंगलबार हुनेछ।